LISTEN LIVE RADIO

लमहीलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने छु : अध्यक्ष खनाल



लमहीलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने छु : अध्यक्ष खनाल

देउखुरी उद्योग वाणिज्य संघ लमही क्षेत्रका व्यवसायीहरुको साझा संस्था हो । देउखुरी उपत्यकामा पुरानो व्यवसायीहरुको साझा संस्थाका रुपमा स्थापना भएको देउखुरी उद्योग वाणिज्य संघले लमही क्षेत्रका व्यवसायीहरुको पेशागत हकहितसँगै समग्र देउखुरीको विकासका लागि समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यही संस्थाको नेतृत्व भर्खरै सर्वसम्मतिमै चयन गरिएको छ । देउखुरी क्षेत्रका उद्योग व्यवसायीहरुले भोग्दै आएका समस्यासँगै प्रदेश राजधानी स्थापना भइरहेको समयमा उद्योग वाणिज्य संघले कसरी आफ्ना गतिविधिहरुलाई अघि बढाउँदै छ ? भर्खरै मात्र सर्वसम्मतिमा देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित खगेश्वर खनालसँग गोरक्षकर्मी शिवराज खनालले गरेको कुराकानीको सार संक्षेप ।

व्यावसायिक नेतृत्व चयनका लागि लमहीमा प्रायः निर्वाचन हुने गरेको थियो तर अहिले तपाईं सर्वसम्मतिबाटै देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ, यो कसरी सम्भव भयो ?

देउखुरी उद्योग वाणिज्य संघ लमहीका व्यवसायीहरुको साझा संस्था हो । संस्थाको नेतृत्व चयनका लागि धेरै पटक चुनाव भएका छन् । अहिले पनि कतिपयको मनस्थिति चुनावमै थियो तर अहिलेको परिस्थीति ठिक नभएका कारण हामी व्यवसायीहरु सहमतिबाटै नेतृत्व चयन गर्ने पक्षमा लागिरहेका थियौँ । सबैको पहलबाट देउखुरी उद्योग वाणिज्य संघले सर्वसम्मतिमै नेतृत्व चयन पाएको हो ।

जहाँसम्म म कसरी नेतृत्वमा पुगेँ भन्ने प्रश्न छ, म यो संस्थामा ६ वर्षसम्म विभिन्न पदमा रहेर काम गरेको छु । जसले गर्दा संस्थालाई कसरी चलाउनुपर्छ भन्ने मसँग अनुभव छ । संघको विभिन्न पदहरुमा रहेर काम गर्दा व्यवसायीहरुको पक्षमा काम गरेको छु । त्यही विश्वासले गर्दा मलाई देउखुरी उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि सबै व्यवसायीहरुले मलाई न्याय गर्नुभयो । त्यसमा राजनीतिक दलहरुले पनि साथ दिनुभयो । कोरोनाका कारण लाखौँ रुपैयाँ घाटा खाएका व्यवसायीहरुले चुनाव गरेर खर्च बढाउनेभन्दा उद्योग व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको संघमा सबै व्यवसायीहरुको सहमतिमा नेतृत्व चयन गर्ने काम भएको हो ।

तपाईं देउखुरी उद्योग वाणिज्य संघको नेतृत्वमा आउनुभएको छ, उद्योगी, व्यवसायीहरुको हकहितका लागि के–के योजनाहरु बनाउनुभएको छ ?

देउखुरी उद्योग वाणिज्य संघको विकाससँगै व्यवसायीहरुको हकहितका लागि धेरै काम गर्नुपर्ने छन् । लमही बजारलाई व्यवस्थित गर्ने, व्यवसायीहरुलाई करको दायरामा ल्याएर स्वच्छ व्यवसाय गर्ने, फोहर व्यवस्थापन, अटोभिलेज सञ्चालनलगायत व्यावसायिक सचेतना समेतका काम गर्नुपर्ने मुख्य दायित्व रहेको छ । त्यसका लागि पूर्व अध्यक्षहरु, सल्लाहकार, राजनीतिक दललगायका वर्तमान कार्यसमितिसँगको सहकार्यमा कामहरु गर्नेछु । व्यवसायीहरुलाई व्यवसाय गर्दा विभिन्न बाधा अड्चनहरु आइपर्छन, त्यो अप्ठ्यारो परिस्थितिमा संघ व्यवसायीहरुको पक्षमा उभिएको थियो र उभिरहने विश्वास दिलाउन चाहन्छु ।

लमही बजारलाई व्यवस्थित रुपमा विकास गर्न के गर्नुपर्ला ?

यो एकदमै सान्दर्भिक प्रश्न उठाउनुभयो । देउखुरी लुम्बिनी प्रदेशको स्थायी राजधानी भएकाले पनि लमही बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्नुपर्ने छ । अहिले पनि देख्नुभएको छ, लमहीको मुख्य बजार नै व्यवस्थित हुन सकेको छैन । व्यवस्थित बजारका लागि बिग्रिएका गाडीहरु मर्मत सम्भारका लागि अटोभिलेज निर्माण, ठेला व्यवसायीहरुलाई व्यवस्थित गर्नेलगायतका कामहरु गर्न आवश्यक छ । यसैगरी लमहीमा रहेको रात्रिकालीन बजारलाई व्यवस्थित गर्न आवश्यक रहेको छ । त्यसका लागि मैले आफ्नो कार्यकालमा लमही नगरपालिका, व्यवसायी साथीहरु, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजलगायतका अन्य व्यवसायी संघसंस्थाहरुसँग समन्वन गरेर लमही बजारलाई व्यवस्थित गर्ने काम गर्नेछु । त्यसका लागि मलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।

 देउखुरी क्षेत्रमा प्रदेशको राजधानी तोकिसकेको छ, यो बेला देउखुरी क्षेत्रमा संचरना निर्माणका लागि निजी क्षेत्रको भूमिका कस्तो हुन सक्छ ?

पक्कै पनि, लुम्बिनी प्रदेशको राजधानी प्रदेश सरकारले देउखुरीको भालुवाङलाई केन्द्र बनाएर निर्माणको कामलाई अघि बढाएको छ । यो हिसाबले देउखुरी उपत्यका प्रदेश राजधानीका रुपमा विकास हुँदैछ । तर यहाँ पूर्वाधारहरुमा धेरै कमी छ । त्यसका लागि सबैले पहल गर्न आवश्यक छ । देउखुरी क्षेत्रमा लमही, सिसहनिया, भालुवाङ र गढवा गरेर ४ वटा उद्योग वाणिज्य संघहरु छन् । यी ४ वटै उवासंघहरुले छलफल गरेर देउखुरीमा प्रदेश राजधानीका लागि निजी क्षेत्रबाट निर्माणको कामलाई अघि बढाउन भूमिका खेल्न आवश्यक छ ।

तपाईं नेतृत्वमा आइरहँदा व्यवसायीहरुका साझा समस्या के–के हुन् ?

लमहीको पहिलो समस्या त बजारमा एकीकृत मूल्यकै समस्या छ । अहिले पनि कतिपय पसलहरु दर्ता नै नगरी सञ्चालन भएका छन् । ती पसललाई दर्ता प्रक्रियामा लग्न आवश्यक छ । यसैगरी बाहिरबाट आउने घुमन्ते, कुम्ले व्यापारीका कारण लाखौँ रुपैया खर्च गरेर व्यवसाय गरेका व्यवसायीहरु देउखुरीमा पीडित बनेका छन् ।

उनीहरुका समस्या समाधानका लागि पहल गर्नुपर्ने अर्काे समस्या छ । त्यस्तै सटर भाडामा नलिएर, ठेलागाडामार्फत बीच सडकमै व्यापार गर्ने गरेकाले बजार साँघुरो देखिने र दुर्घटना हुने समस्या पनि छ । त्यस्तै व्यावसायिक सचेतनाको पनि लमहीमा समस्या छ । यी सबै समस्या समाधान गर्नुपर्ने अहिलेको कार्यसमितिको चुनौतीका विषय हुन् ।

 दाङका बजारहरुमध्य रातिको समयमा खुल्ने बजार भनेको लमही मात्रै छ, यो व्यवस्थित हुनसकेको छैन । यसलाई व्यवस्थित गर्न तपाईंले के पहल गर्नुहुन्छ ?

लमहीको बसपार्कमा रहेको बजार रातमा खुल्ने गरेको छ । पहिलेको तुलनामा अहिले धेरै व्यवस्थित बनेको छ । तर पनि अझै धेरै काम गर्नुपर्ने छ । ससना ढेब्लीहरुमा रहेका व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौँ । त्यस क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि स्थानीय सरकार, नगर विकास समिति र व्यवसायीहरुसँग छलफल गरेर बजारलाई व्यवस्थित गर्ने काम गर्नेछु ।

 विश्वव्यापी रुपमा फैलिएको कोभिडका क्रममा अन्यत्रजस्तै लमही क्षेत्रका व्यवसायीहरुले पनि विभिन्न समस्या भोगेका छन्, ती समस्याहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर नै समस्या सिर्जना गरेको छ । त्यसमा लमही बजार छुट्ने झन कुनै भएन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका क्रममा धेरै व्यवसायीहरु व्यवसाय छोड्न बाध्न हुनुभयो । जसका कारण कतिपय व्यवसायीहरुले अहिले पनि समस्यामा हुनुहुन्छ ।

तसर्थ, समस्यामा परेका व्यवसायीहरुको समस्या समाधानका लागि पहल हुने छ । व्यवसायीहरु समस्यमा परेको बेला थोरै भए पनि सहयोग मिलोस् भन्ने उद्देश्यले राहत कोषको स्थापनाका लागि पहल गर्ने सोचमा छौँ । यसैगरी व्यवसाय प्रबद्र्धनका लागि राहतका प्याकेज ल्याउन सरकारसँग माग गर्ने योजनामा छौँ । साथै व्यवसायीहरुलाई विभिन्न तालिम, भ्रमणका लागि समेत पहल गर्ने योजना बनाउँदै छौँ ।

 लमही बजार दाङ जिल्लाको मुख्य नाकाका रुपमा रहेको कोइलावार नाकासँग जोडिएको बजार हो । अहिले कोइलावास नाकासम्म बाटो पनि पिच भइसकेको छ । यो अवस्थामा नाकालाई व्यावसायिक रुपमा चलायमान बनाउन लागि के गर्नुपर्ला ?

कोइलावास नाका देउखुरीको मात्र नभएर सम्रग दाङको मुख्य नाका हो । कुनै बेला दाङको मात्र नभएर राप्तीकै मुख्मुद्वाराका रुपमा रहेको नाकालाई जतिसक्यो चाँडै सञ्चालनमा ल्याउन आवश्यक । त्यसका लागि देउखुरी उद्योग वाणिज्य संघको नेतृत्व गर्ने छ । त्यसमा जिल्लाका सम्पूर्ण उद्योग वाणिज्य संघहरुलगायत व्यवसायी, राजनीतिक दल, स्थानीय सरकारहरुले संयुक्त रुपमा पहल गर्न आवश्यक छ ।

यो नाकालाई व्यवसायी नाका रुपमा विकास गर्नसके देउखुरीको मात्र होइन दाङ जिल्लाकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसका लागि विशेष योजना बनाएर नाकालाई व्यावसायिक नाकाका रुपमा पहल गर्न नेपाल तथा भारततर्फका उद्योगी व्यवसायीसँगै सरकारसँग समेत पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि देउखुरी उद्योग वाणिज्य संघको तर्फबाट पक्कै पनि पहल हुने छ । त्यसमा सम्पूर्ण जिल्लावासीले सहयोग गर्नुहुने छ भन्ने आशा पनि छ ।

अन्त्यमा केही भन्नु छ ?

देउखुरी उद्योग वाणिज्य संघ सम्पूर्ण लमही क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा संस्था हो । यो संस्थाले व्यावसायिक हकहितसँगै समग्र देउखुरीको आर्थिक, सांस्कृतिक, सामाजिक विकासका लागि पहल गर्दै आएको छ । र, आगामी दिनहरुमा पनि व्यवसायीहरुका लागिनेतृत्वदायी काम गर्ने छ ।

यसैगरी व्यावसायिक हकहित र पेशागत सुरक्षाका लागि समेत देउखुरी क्षेत्रमा रहेका उद्योगी, व्यवसायी, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, सुरक्षा निकायलगायतका संघसंस्थाहरुसँग समन्वय गरेर काम गर्ने छौँ । अन्त्यमा मलाई देउखुरी उद्योग वाणिज्य संघका गतिविधि र आगामी योजनाहरु राख्ने अवसर दिनुभएकोमा तपाईं र पत्रिकाको टिमलाई विशेष धन्यावाद ज्ञापन गर्दछु ।

गोरक्ष दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे