LISTEN LIVE RADIO

वडाध्यक्षको ठाडो आदेशमा विद्यालय भवनको निर्माण कार्य रोकियो, पठनपाठनमा समस्या



वडाध्यक्षको ठाडो आदेशमा विद्यालय भवनको निर्माण कार्य रोकियो, पठनपाठनमा समस्या

लमही ६ चैत । दाङ देउखुरीको एक विद्यालयमा रकम अभावका कारण २ कोठे विद्यालय भवन बन्न नसक्दा पठनपाठनमा समस्या देखिएको छ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर १ को बिकट पहाडी भेगमा पर्ने दिव्य आधारभुत विद्यालय बसन्तपुर बौराहमा सो समस्या देखिएको हो ।

२०७२÷०७३ सालमा शान्ति तथा भौतिक निर्माण मन्त्रालयको २ लाख र स्थानीय बासिन्दाहरुको जनश्रमदानबाट सो भबनको निर्माण कार्य सुरु भएको थियो । लमही नगरपालिकाको आन्तरिक सोतबाट आ.व.२०७४÷०७५ मा निर्माधिन भबन ४ लाख बजेटबाट निर्माण कार्य थालनी गर्ने संम्झौता भएता पनि लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको ठाडो आदेशमा एकाएक उक्त भबन निमार्णमा रोक लगाउँदा सो भवन अलपत्र परेको हो ।

२ कोठे भबन निर्माण कार्यमा वडा तथा स्थानीय सरकारले रोक लगाई दिदा अहिले विद्यालयको भबन निर्माण कार्य रोकिएको छ । कक्षा कोठा अभावका कारण अहिले एउटै कोठामा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेर कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीय सरकार आएको ५ वर्ष बित्नै लाग्यो तर पनि अहिले सम्म कुनै पनि प्रकारको सहयोग आएको छैन, विद्यार्थीको बसाई व्यवस्थापन तथा पठनपाठनमा समस्या आएको विद्यालयका प्रअ दिलबहादुर ओलीले गुनासो गरे ।

विद्यार्थीहरु कोचाकोच गरेर भएपनि जसो तसो पढाइ राखेका छौ प्रअ ओलीले भने । हाम्रो विद्यालयको अलपत्र दुई कोठे भबनलाई आर्थिक सहयोग गरिदिनका लागि स्थानीय सरकार वडा हुँदै नगरपालिका सम्म कैयौं पटक डेलिगेसन गयौं तर पनि हाम्रो माग सुनुवाई भएन बढो भावुक हुँदै प्रअ ओलीले गुनासो गरे । हेर्नुस् हाम्रो विद्यालय आर्थिक लगायत सबै क्षेत्रबाट पछाडि परेको र पारिएको एक मात्रै विद्यालय हो । जहाँ शौचालय, खानेपानी भौतिक पुर्बाधारबाट अत्यन्तै पछाडि परेको प्रअ ओलीले भने । ४ वटा कोठा छ, जहाँ शिशु कक्षा देखि ५ कक्षा सम्म अध्यापन गराउनु परिरहेको अबस्था छ । अफिस सहित ७ वटा कोठाको आवश्यता हो तर ४ वटा कोठामा मात्रै अध्यापन गराउनु परेको छ ।

जसमा शिशु देखि ५ कक्षा सम्म पठनपाठन हुँदै आइरहेको छ । यति मात्रै होइन शिक्षक संख्या ५ जना हुनुपर्ने हो तर दुई जनाले मात्रै पठनपाठन गराइरहेका छन् । त्यसमा पनि २ जनाको दरबन्दी भए पनि एक जना मात्र दरबन्दी शिक्षक छन् । विद्यालयमा लमही नगरपालिका तथा वडा कार्यालयको बेवास्ताका र मौनताका कारण विद्याालयमा यस्तो अबस्था आएको हो । लमही नगरपालिका वडा नम्बर १ मा ४ वटा विद्यालय छन् तर अरु ३ वटा विद्यालयलाई आर्थिक सहयोग भइरहेको देखिन्छ । तर हाम्रो विद्यालयमा भने शून्य छ । किन म अति अचम्मित भएको छु उनले भने । स्थानीय सरकारले नै हो हाम्रोे आधार भनेको उसलेनै यसरी विभेद गर्छ भने कार्य गर्ने जोश जाँगर मान्छेमा कहाँबाट आँउछ । यस्तै यस्तै तमाम खाले समस्या र विभेदमा रुमिलिएको विद्यालय हो भन्दा पनि कुनै फरक पर्दैन ।

सिंहदरवारको अधिकार गाउँमा आएपनि विद्यालयको अबस्था उस्तै छ । स्थानीय निर्वाचनको चुनावी माहोलको समयमा शिक्षण सहयोग अनुदान, शैक्षिक तथा भौतिक निर्माण कार्यमा सहयोग गर्ने आश्वासन दिएता पनि स्थानीय सरकार बाट कुनै सहयोग नपाउँदा अहिले विद्यालयको अवस्था भद्रगोल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद घर्तीले बताए । यता यस विषयमा लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल सँग बुझ्दा सो विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण विद्यालय मर्ज गर्न अनुरोध गरेपनि सो विद्यालयका अभिभावकहरुले मन नगरेपछि भवन निमार्ण कार्य रोकिदिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे