नेकपा बहुमतद्वारा दाङका प्रजिअलाई ध्यानाकर्षण पत्र, वन मन्त्री कुर्मी र सांसद केसीलाई कारवाहीको माग



नेकपा बहुमतद्वारा दाङका प्रजिअलाई ध्यानाकर्षण पत्र, वन मन्त्री कुर्मी र सांसद केसीलाई कारवाहीको माग

दाङ १९ भदौ । नेकपा बहुमतले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा बहुमतका दाङ सेक्रेटरी अम्मर खड्काको नेतृत्वमा गएको टोलीले पत्र बुझाएको हो । बहुमतले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी र सांसद केसीलार्ई बर्खास्त गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । प्रदेश मन्त्री कुर्मी नेपालगन्जकी निर्मला कुर्मीका वेपत्ता र हत्याका मुख्य आरोपित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । मन्त्री कुर्मीलाई गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितिले दोषी किटान गरेको थियो । उनलाई जेल पठाउनुपर्नेमा मन्त्री बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा रुकुम पूर्बबाट लुम्बिनी प्रदेश सांसदमा निर्वाचित डिवी भनिने धनबहादुर केसीलाई पनि पक्राउ गर्न माग गरिएको छ । रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै एक वर्ष कैद र दुई हजार जरिवाना तोकेको थियो । त्यति बेलैदेखि केसी फरार सूचीमा रहेका छन् । यसरी मन्त्री कुर्मीलाई वर्खास्त र सांसद डिबी केसीलाई अदालतको फैसला अनुसार कारवाही नगरे आन्दोलन अघि बढाउने जनाएको छ । जसमा २० गते मसाल जुलुस, २१ गतेदेखि लुम्बिनी प्रदेशभरि सरकारी सवारी साधन चल्न नदिने प्रजिअलाई जानकारी दिइएको सेक्रेटरी खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे