सुख-दुखको सारथी बन्दै राप्ती-५ का जनप्रतिनिधिहरू: दुखमा सान्त्वना दिन घर घरमा पुग्दै



सुख-दुखको सारथी बन्दै राप्ती-५ का जनप्रतिनिधिहरू: दुखमा सान्त्वना दिन घर घरमा पुग्दै

सिसहनियाँ ३१ भदौ । चुनावको समयमा घरखेतसम्मै पुगेर मतदातालाई भेटेका जनप्रतिनिधि चुनाव जितेपछि जनताको घरदैलोमा नपुगेको गुनासाहरु धेरै छन् । तर दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधिहरू दुःखका बेला मतदाताको घरदैलोमै पुग्ने गरेका छन् ।

वडाबासीको मृत्यु हुँदा कसैलाई नछुटाई राप्ती-५ का जनप्रतिनिधिहरू घरदैलोमा पुग्छन् । जनप्रतिनिधिले मृतकको घरमा पुग्ने कार्यक्रम नै बनाएर मृतकका परिवारलाई सान्त्वना दिने गरेका छन् । ‘क्रियापुत्री भेटघाट कार्यक्रम’ नाम दिएर वडा अध्यक्ष र सदस्यहरू मृतक परिवारको घरमा जाने गरेका छन् । वडा कार्यालयबाट बजेट नै विनियोजन गरि घरआँगनको सरकारको नाताले दुःखपीडामा परेका सबै नागरिकलाई भेट्ने गरिएको वडा अध्यक्ष देवप्रसाद चाैधरीको भनाई छ । वडा कार्यालयबाट समवेदना व्यानर, फलफूल र चिनी साथमा लिएर हामी जनप्रतिनिधिहरू मृतकको घरमा गएर सहानुभूति तथा समवेदना प्रकट गर्ने गरेका छाैं वडा अध्यक्ष चाैधरीले भन्नु भयो ।

यसै बीच सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्व. स्यामली चाैधरीको घरमा वडा अध्यक्ष चाैधरी सहितको टोली समवेदना प्रकट गर्न पुगेको थियो । हातमा समवेदना व्यानर, फलफूल र चिनी लगेर वडा अध्यक्ष देवप्रसाद चाैधरी, सदस्यहरू गोविन्द कुवर क्षेत्री, सावित्रा देवी दमाई र भुपलाल थापा मगर मृतकको घरमा पुगेका थिए । घरमा पुग्दा मृतक परिवारका सदस्यहरू साच्चिकै दुखमा वडा सरकार भएको अनुभुती आफुहरूले महसुस गरेको बताएका छन् ।

सुखमा त सवै जना हुन्छन् नै तर दुख पर्दा जनप्रतिनिधि पनि के आउलान् र भन्ने भ्रम साँच्चिकै अन्त्य भएको उनीहरूले बताएका छन् । मृतक चाैधरीको गत भदौ २३ गते ५७ वर्षको उमेरमा आफ्नै घरमा सुतिरहेकै बेला मृत्यु भएको थियो । यस अघि कालापानीका २ घर र पहरूवामा १ घर गरि ३ वटा घरमा क्रियापुत्री सँग भेटघाट गरि मृतक प्रति श्रद्धाञ्जली अर्पण र मृतक परिवार प्रति समवेदना प्रकट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे