LISTEN LIVE RADIO

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महरा संगै तीन मन्त्रीले लिए सपथ (यस्ताे छ, मुख्यमन्त्री महराकाे छाेटाे जिवनी)



लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महरा संगै तीन मन्त्रीले लिए सपथ (यस्ताे छ, मुख्यमन्त्री महराकाे छाेटाे जिवनी)

राप्ती उपत्यका (दाङ) २५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । महरा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो चरणमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन (सिजल)ले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। अहिले मन्त्री नियुक्त भएका कसैलाई पनि मन्त्रालयको जिम्मेवारी दिईएको छैन। महराले आफुले सपथग्रहण गरेसंगै सत्तासाझेदार दलहरुको तर्फबाट सानो आकारको मन्त्रीमण्डल बनाएका हुन् ।

नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतले बताएकाे छ । महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ ।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।  महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् ।महरा लुम्बिनी प्रदेशका पाँचाै मुख्यमन्त्री हुन् ।

सपथ ग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्ती र एमाले संसदीय दलका नेता लिला गिरी लगायतको उपस्थिती रहेको थियाे ।

को हुन् मुख्यमन्त्री महरा ?

माओवादी भित्र प्रताप नामबाट बोलाईने मुख्यमन्त्री जोखबहादुर महराको जन्म २०२० साल कार्तिक १ गते साविक गजुल–२, रोल्पा, हाल सुनिलस्मृति–५ गजुल काट्रने रोल्पामा भएको हो । बुवा स्वर्गीय खलबहादुर महरा र रमिता महराबाट जन्मेका महराले विद्यार्थीकालबाटै राजनीति गर्न थालेका हुन् ।

२०३५/०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा आकर्षित भएका महरा आज सम्म राजनीतिबाट थाकेका छैनन् । ३६ सालमा दाङको घोराहीबाट विद्यार्थी आन्दोलनमा होकिएका जोखबहादुरले २०३७ देखि ३९ साल सम्म प्राबि शिक्षक भएर अध्यापन र राजनीति सँगसँगै लगेका थिए । २०३९ देखि ४४ सम्मपनि माबी शिक्षक र राजनीति गरिरहेका महरा शिक्षणसँगै २०४२ सालमा अ.ने.रा.स्व.वि.युको सचिव बनेका थिए । विद्यार्थी राजनीतिकै बेला महराले २०४२ सालमा नेकपा मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीले २०४३ सालमा अ.ने.रा.स्व.वि.युको केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका महरा २०४७ सालमा भने नेकपा मशालको रोल्पा जिल्ला कमिटी सदस्य बनेका थिए ।

२०५० सालमा पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका महराले एस.एल.सि. श्री जनज्योतिमावि गजुल रोल्पाबाट, प्रमाणपत्र तह, राजनितिशात्र÷अर्थशात्र, संस्कृति,महेन्द्र बहुमुखी क्याम्पस दाङबाट तथा स्नातकतह पनि राजनितिशात्र अर्थशात्रमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट गरेका हुन् ।

२०५० मा पूर्णकालिन भएलगत्तै महरा २०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी, २०५४ सालमा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य, २०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी, २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका थिए ।

अविचलित राजनीतिमा रहेका महराले २०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य, २०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष क. प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाएका थिए । २०६६ सालमा पार्टीको बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारी समेत महराले निभाएका थिए । ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव सहित २०७२ देखि २०७८ सम्म अध्यक्ष क.प्रचण्डको प्रमुख स्वकीय सचिव भएर महराले हेडक्वाटरको व्यवस्थापन गरेका थिए ।

हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका उनी विगत निर्वाचनमा रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१ को बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा विजयी भएका थिए । माओवादी लुम्बिनी प्रदेश संसदीयदलका नेता रहेका महरासँग छोटो समय मुख्यमन्त्री लिला गिरीको बेला अर्थमन्त्रालय संचालनको समेत अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे