रित्तिँदै गरेका विश्वविद्यालयलाई कसरी जोगाउने ?



रित्तिँदै गरेका विश्वविद्यालयलाई कसरी जोगाउने ?

कुनै समय विद्यार्थीले भरिभराउ हुने त्रिभुवन विश्वविद्यालय (त्रिविवि)का विभाग अहिले रित्तिने अवस्थामा छन् ।
त्रिविविका केन्द्रीय विभाग मात्र होइनन्, त्रिविविअन्तर्गतका आङ्गिक र सामुदायिक क्याम्पसहरूको हबिगत पनि त्यस्तै छ । त्रिविविमा सुपथ शुल्कमा अध्ययन हुने विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन विषयमा समेत विद्यार्थीको कोटा पु¥याउन समस्या परिरहेको छ भने त्रिविवि सम्बन्धन प्राप्त निजी कलेजको अवस्था पनि उस्तै छ । हिजोका दिन बर्सेनि सयौँ विद्यार्थीले अध्ययन गर्ने त्रिविविमा पछिल्लो समय विद्यार्थी तीव्र गतिमा घटिरहेका छन् । कोही भर्ना हुने बित्तिकै सिफारिसपत्र लिएर कन्सल्टेन्सी धाउन थाल्छन् भने कोही पढाइ छाडेर अरू रोजगारी वा पेसाको बाटो खोज्नतिर लाग्छन् । हुन त नेपालको विश्वविद्यालयका उत्पादन विश्वका महत्त्वपूर्ण ठाउँमा छन् ।

त्रिविविको गुणस्तरमा औँला उठाउने ठाउँ त्यति छैनन् । त्रिविविबाट उत्पादित जनशक्तिले विश्वका हरेक ठाउँमा ख्याति कमाएकै छ । मेडिकल क्षेत्रमा त्रिविवि अब्बल छ । त्रिविविको इन्जिनियरिङ, व्यवस्थापन तथा शिक्षाशास्त्र सङ्कायमा पनि शिक्षाको गुणस्तर कम छैन । भौतिक संरचना र जनशक्तिको पनि त्यति कमी होइन । यद्यपि त्रिविविमा यसरी दिनानुदिन विद्यार्थी घट्नुको पछाडिको मुख्य दोष त्रिविविको फितलो व्यवस्थापनलाई नै जान्छ, जानुपर्छ । यहाँ समयमा परीक्षा हुँदैन, समयमा नतिजा निकालिँदैन । अहिले त्रिविवि मात्र होइन, अन्य विश्वविद्यालयको हबिगत पनि उस्तै छ । बढीजसो प्राविधिक विद्यार्थीले धानेका पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थी पर्याप्त छैनन् । अहिले नेपालमा च्याउसरी खुलेका विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले चर्काे शुल्कमा नेपाली विद्यार्थीलाई लुटिरहेका छन् । यसमा नियामक निकाय मौन छ । त्रिविविमा ५०० रुपैयाँ शुल्क वृद्धि गर्दा पनि आगो बाल्ने विद्यार्थी सङ्गठन विदेशी विश्वविद्यालयको लुटतन्त्रमा मौन छन् । सरकारी निकाय समेत मौन छ । अझ विदेशी विश्वविद्यालयको तीनवर्षे कोर्सलाई त्रिविविले आफ्नो चारवर्षे सरहको समकक्षता दिने गर्छ ।

विद्यार्थीले अवसर खोजेका हुन्, कमाउँदै पढ्न खोजेका हुन् वा पढिसकेपछि जागिरको ग्यारेन्टी खोजेका हुन् ? यसलाई मध्यनजर गरेर राज्यले ठोस कार्यक्रम ल्याउन ढिला गर्नुहुँदैन । त्रिविवि नेपालको शिक्षा क्षेत्रको एउटा मियो हो, तर त्रिविविको फितलो व्यवस्थापनकै कारण नेपालको शिक्षा प्रणाली ओरालो लाग्न थालिसकेको छ । शिक्षा प्रणाली सुधार्ने भनेर सधैँ भीसी, रेक्टर र रजिस्टार आउँछन् तर उनीहरू आफ्नो कार्यकाल सकाउनेबाहेक त्रिविविको व्यवस्थापन सुधार्न सम्झनलायक कुनै कार्य गर्दैनन् । नेपाली विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थीले नेपाली बजारमा उचित भूमिका नपाउँदा पनि विदेशी विश्वविद्यालयप्रति विद्यार्थी आकर्षित भएका वा बिदेसिएका देखिन्छन् । हाम्रा विश्वविद्यालयमा अरू पनि समस्या छन्— यहाँ न समयसापेक्ष रूपमा पाठ्यक्रम परिमार्जन गरिन्छ, न त प्रविधिमैत्री परीक्षा छ; यसकारण पनि विद्यार्थी आजित भएर बिदेसिँदै छन् ।

नेपालको शिक्षा प्रणाली कमजोर नभए पनि विद्यार्थीले नेपालमा आफ्नो भविष्य नदेख्दा र नेपाली विश्वविद्यालयले व्यावहारिक सीप ज्ञानभन्दा सैद्धान्तिक पक्षलाई मात्र बढी हेर्दा नेपाली विद्यार्थी बिदेसिँदै छन् । अहिलेको पुस्ताले हरेक दृष्टिले स्वतन्त्रता खोज्छन्, उनीहरू अभिभावकको दबाबमा बस्न रुचाउँदैनन् । त्यो पक्षलाई पनि हाम्रो समाजले गहन अध्ययन गर्न जरुरी छ, यहाँ एक–अर्काको टाउकामा दोष थुपार्दा थुपार्दै परिस्थिति आजको दिनसम्म आइपुगेको छ र अझै विकराल बन्दै जानेछ । विदेशमा पढ्न जानका लागि विद्यार्थीले ठुलो रकम खर्च गरिरहेकै छन् । यसरी नेपालको अर्थतन्त्र र जनशक्ति बाहिरिइरहेको छ, यसको समाधानका लागि सबै पक्षले बेलैमा सोच्नुपर्छ । यसका लागि राज्यसँग खास–खास योजना हुनुपर्छ ।

विद्यार्थीले अवसर खोजेका हुन्, कमाउँदै पढ्न खोजेका हुन् वा पढिसकेपछि जागिरको ग्यारेन्टी खोजेका हुन् ? यसलाई मध्यनजर गरेर राज्यले ठोस कार्यक्रम ल्याउन ढिला गर्नुहुँदैन । विद्यार्थी भनेका युवा जनशक्ति हुन्, उनीहरूलाई उत्पादनसँग नजोडी, उनीहरूलाई विज्ञान र प्रविधितर्फ नलगाई देशले समृद्धिको यात्रा तय गर्दैन । यसर्थ सरकारले आफ्नो देशका विद्यार्थीलाई स्वदेशमै रोक्ने नीति ल्याउनैपर्छ । अनि हामीले हाम्रो विश्वविद्यालयको गरिमा जोगाउनतिर पनि लाग्नुपर्छ । यसमा त्रिविवि नेतृत्व र विश्वविद्यालयका सबै सरोकार वाला पक्ष इमानदार भएर लाग्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे