LISTEN LIVE RADIO

घण्टदेब सामुदायिक वनको निर्वाचनमा काँग्रेस कै बीच प्रतिस्पर्धा, भुसाल र पाण्डे नेतृत्वको प्यानल दर्ता



घण्टदेब सामुदायिक वनको निर्वाचनमा काँग्रेस कै बीच प्रतिस्पर्धा, भुसाल र पाण्डे नेतृत्वको प्यानल दर्ता

भालुवाङ ९ फागुन । दाङ—देउखुरीको राप्ती गाउँपालिका—३, मसुरिया स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा काँग्रेस विभाजन भएको छ । फागुन १४ गते सोमबार हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा काँग्रेसबाटै दुई जना स्थानीय प्रभावशाली नेताहरुले उम्मेदवारी दर्ता गराए संगै काँग्रेस विभाजन भएको हो ।

निर्वाचन उप—समितीले हालै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बुधबार दिउँसो १ बजे देखि ३ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेको थियो । उक्त समय भित्र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिप्रसाद भुसाल र काँग्रेसकै लुम्बिनी प्रदेश समिती सदस्य दुर्योधन पाण्डेले छुट्टाछुट्टै प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेसबाटै एउटै पदमा छुट्टाछुट्टै प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराए संगै काँग्रेस भित्रको बिबाद थप उत्कर्षमा आएको छ । राष्ट्रिय राजनितिमा काँग्रेस, माओवादी र एकिकृत समाजवादी पार्टी लगायतका दलले गठबन्धन गरेर सरकार सञ्चालन गरिरहेको बेला स्थानीय संघसंस्थाको निर्वाचनमा भने गठबन्धन टुट्ने गरेको पाइन्छ ।

जसको ज्वलन्त उदाहरणका रुपमा घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनलाई सहजै लिन सकिन्छ । अझै रोचक बिषय त के छ भने वन समूहको निर्वाचनमै देश कै ठुलो दल काँग्रेस आफै विभाजन भएको छ । यसले काँग्रेस भित्रको दुई धार प्रष्ट देखाएको स्थानीय जानकारहरु बताउँछन् ।

जस अनुसार अध्यक्ष हरिप्रसाद भुसाल नेतृत्वको सयुक्त प्यानलको उपाध्यक्षमा जगबहादुर चौधरी, सचिवमा संगिता चौधरी, कोषाध्यक्षमा बाबुराम गैरे, सदस्यहरूमा सावित्रा थापा, निर्मल चौधरी, ठाकुर आचार्य, मिनबहादुर चौधरी, रामचन्द्र चौधरी, कमला घर्ती, गौसरी घर्ती, लिलमति बुढा, रूद्रमणि शर्मा, जुगुनुप्रसाद चौधरी रहेका छन् ।

यस्तै अध्यक्ष दुर्योधन पाण्डे नेतृत्वको साझा प्यानलको उपाध्यक्षमा टेकबहादुर गिरी, सचिवमा सुधाकुमारी शाही, कोषाध्यक्षमा भानबहादुर घर्ती, सदस्यहरुमा दमन्ती थापामगर, खुमीसरा रोका, बिन्दु परियार, राजकुमारी घर्तीमगर, गोमती पुनमगर, उब्जलाल पुन, सन्तोष भण्डारी, मिल्कु चौधरी र गुरुदेब चौधरी रहेका छन् ।

अध्यक्ष भुसाल नेतृत्वको संयुक्त प्यानललाई नेपाली काँग्रेसको एक पक्ष सहित नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष पाण्डे नेतृत्वको साझा प्यानललाई नेपाली काँग्रेसको आर्को पक्ष सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) को समर्थन रहेको छ । भुसाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पाण्डे काँग्रेसका लुम्बिनी प्रदेश समिती सदस्य हुन् ।

यता वन समूहको नयाँ नेतृत्व चयनका लागि काँग्रेस भित्रै बिबाद देखिएपछि निर्वाचन जाने गरी काँग्रेस आफै किन बिभाजनमा देखियो भन्ने बिषयमा नेपाली काँग्रेस राप्ती गाउँपालिका समितीका सभापति विद्यासरण चौधरीलाई बुझ्दा उनले यो बिबाद आउन नदिनका लागि लागि पार्टीबाट पहल गरिएपनि सहमति गराउन नसिएको स्वीकार गरे । वन समूहको अध्यक्ष पद मै हाम्रो काँग्रेसबाटै दुई जना आँकाक्षी देखिएपछि एक जनालाई फिर्ता गराएर एक जनाको नाम मात्र सिफारिस गर्न खोजे पनि दुई जनाले नै आ—आफ्नो अडान नछोडेपछि यस्तो स्थिती पैदा भएको हो, सभापति चौधरीले भने ।

हामीले अन्तिम समय सम्म पनि दुई जनालाई पार्टी कार्यालय मै बोलाएर छलफल गर्‍यौँ तर उहाँहरुले सहमति गर्न तयार हुनु भएन, त्यसपछि हामीले उहाँहरुलाई छोडिदिर्यौँ सभापति चौधरीले भने । उनले हरिप्रसाद भुसाल र दुर्योधन पाण्डे दुई जना नै काँग्रेसको आधिकारिक उम्मेदवार नरहेको समेत प्रष्ट पारे ।

काँग्रेस समर्थित उपभोक्ताले कसलाई मतदान गर्ने त ? भन्ने हाम्रो प्रश्नको जवाफमा सभापति चौधरीले आफूलाई इच्छा लागेको जुनसुकै उम्मेदवारलाई मतदान गर्न उपभोक्ताहरुलाई पूणर् अधिकार रहेको बताए । उनले हामीले फलानो उम्मेदवारलाई मतदान गर्नु पर्छ भनेर कसैलाई समर्थन गरेको अवस्था छैन, त्यसैले मतदाताहरुले स्वइच्छाले मतदान गर्न आग्रह गर्दछौँ, सभापति चौधरीले भने ।

गत फागुन ५ गते शनिबार भएको १७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचनमा हुन लागेको हो । वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेतादोय हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले आ—आफ्नो अडान नछोडेपछि निर्वाचनमा जाने गरी निर्वाचन उप—समिती गठन गरेर प्रक्रिय अगाडी बढाइएको थियो ।

सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि वन समूहको विधान अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ की वडा सदस्य चम्फा भुसालको संयोजकत्वमा निर्वाचन उप—समिती गठन गरेको थियो । जसको सदस्यहरुमा सव—डिभिजन वन कार्यालय राप्तीका प्रमुख विनोदकुमार शाह, नर्ती समन्वय समितीका प्रतिनिधि ओमप्रकाश बिक, शान्ति सावउसका प्रतिनिधि जिवराज वली र उपभोक्ता लक्ष्मण आचार्य रहेका छन् ।

निर्वाचन तालिका अनुसार फागुन ९ गते बुधबार दिउँसो १ बजेदेखि ३ बजे सम्म उम्मेदवारी दर्ता गर्ने, ११ गते दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशन गरिएको निर्वाचन उप—समितीका संयोजक चम्फा भुसालले जानकारी दिइन् । उक्त सामुदायिक वन समूहमा कुल १ हजार १ सय ७७ घरधुरी उपभोक्ता मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे