LISTEN LIVE RADIO

वन पैदवारमा सरकारले लगाएकाे तेह्राे कर हटाउन रूपन्देही वन महासंघकाे माग



वन पैदवारमा सरकारले लगाएकाे तेह्राे कर हटाउन रूपन्देही वन महासंघकाे माग

दाङ ८ पुस । सामुदायिक वन उपभोक्ता समूहलाई प्रदेश तथा संघीय सरकारले लगाएकाे तेह्राे कर हटाउन सामुदायिक वन उपभोक्ता महासंघ रूपन्देहीले माग गरेकाे छ । वन महासंघ रूपन्देहीकाे आज आइतबार बुटवलमा सम्पन्न नवाैँ नियमित बैठकमा यस्ताे माग गरेकाे हाे ।

वन महासंघ रूपन्देहीकी अध्यक्ष श्यामकला आचार्य (सुमित्रा) काे अध्यक्षता एवम् वन महासंघका केन्द्रीय उपाध्यक्ष महम्मद कर खाँकाे प्रमुख आतिथ्यता तथा वन महासंघका केन्द्रीय सदस्य एवम् रूपन्देही इन्चार्ज दिनानाथ आचार्यकाे विशिष्ट आतिथ्यतामा भएकाे भेला तथा बैठकमा बाेल्ने बक्ताहरूले सामुदायिक वनले साल प्रजातिकाे काठ आन्तरिक बिक्री बितरण गर्दा सरकारले लगाएकाे २५ प्रतिशत लिन नपाईने सर्वाेच्च अदालतकाे फैसला प्रदेश सरकारले कार्यान्वय नगरेकाे भन्दै तत्काल उक्त फैसला कार्यान्वयन गर्न माग गरेका छन् । साथै बक्ताहरूले सर्वाेच्च अदालतकाे फैसला प्रदेश सरकारले तत्काल कार्यान्वय नगरे थप संघर्षकाे कार्यक्रम अगाडि बढाउन प्रदेश वन महासंघलाई अनुराेध समेत गरेका छन् ।

बैठकले माघ ८ गते साेमबार जिल्ला वन महासंघ तथा स्थानीय वन महासंघका पदाधिकारी र सम्बन्धित वन समूहका अध्यक्षहरू सहित प्रतिनिधि मण्डल डिभिजन वन कार्यालय रूपन्देहीमा डेलिकेशन जाने निर्णय गरेकाे छ । गत बर्ष सामुदायिक वनहरूले घाटगड्डी गरि राखेका काठहरू बिक्री बितरण गर्न नपाउँदा सामुदायिक वनहरू थप मर्कामा परेकाे सामुदायिक वनका अगुवाहरूले बताएका छन् । यता बैठकले अहिले पुन: सामुदायिक वन समूहहरूले छपानकटान आदेश लिनु पर्ने समय भएकाे भएपनि उक्त आदेश लिन निकै कठिनाई हुने गरेकाे बैठकले निष्कर्ष निकालेकाे छ ।

वन महासंघ रूपन्देहीका काेषाध्यक्ष बिनाेद आचार्यकाे स्वागत मन्तव्यबाट शुरू भएकाे भेला तथा बैठकमा महासंघकी लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारी, महासंघका केन्द्रीय सदस्यहरू कमल परियार, टिचन गुरूङ्ग, पूर्व केन्द्रीय सदस्य रिता घिमिरे र लुम्बिनी प्रदेश सदस्य दुर्गा बस्याल लगायतका वक्ताले सरकारले सामुदायिक वन समूहहरूलाई विभिन्न बहानामा कर लादेकाे भन्दै उक्त कर खारेजीका लागि सामुदायिक वनहरूलाई गाेलबद्ध गरेर थप संघर्षका लागि लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा वन महासंघकाे केन्द्रीय उपाध्यक्षमा मनाेनित भएकाे भन्दै महम्मद कर खाँलाई सम्मान-पत्र र खाँदा सहित सम्मान गरिएकाे छ । कार्यक्रमकाे सञ्चालन जिल्ला महासंघ रूपन्देहीकी सचिव कमला ज्ञवालीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे