किन बढ्दै छ सवारी दुर्घटना ?



किन बढ्दै छ सवारी दुर्घटना ?

पछिल्लो समयमा देशका विभिन्न भागमा सडक यातायातका सवारी दुर्घटना बढ्दै गएको छ । मुलुकको आधारभूत यातायातको रुपमा रहेको सडक दुर्घटना वृद्धि हुनुलाई चिन्ताको रुपमा हेर्नुपर्ने देखिएको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधारण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ । देशको ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ ।

धेरै सवारी साधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको पाइन्छ ।
चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ । देशभर सडक यातायात सञ्जाल वृद्धि भइरहेका कारण गाउँगाउँसम्म यातायातको पहुँच बढ्दै जानुलाई सुखद् मान्नुपर्छ । सडक र सडकमा गुड्ने सवारी साधनको वृद्धि र विकाससँगै दुर्घटनाको जोखिम बढ्नु भने चिन्ताको विषय बनिरहेको छ । चालकको लापरबाही नै सवारी दुर्घटनाको मुख्य कारण बनिरहेको छ । तिव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र जथाभावी ओभरटेक गर्नेजस्ता चालकको लापरबाहीले अधिकांश सवारी दुर्घटना हुने गरेको तथ्यलाई नकार्न सकिँदैन । सवारी साधन सुरक्षितरुपमा गुडाउन सकिने सडकको अवस्था नहुनु, क्षमताभन्दा बढी भार बोक्नु पनि दुर्घटनाको थप कारण बन्ने गरेको छ । यस्तै, सवारी साधनमा हुने गरेको यान्त्रिक गडबडीले पनि सवारी दुर्घटना हुने गरेको भए पनि दुर्घटनाको मुख्य कारण मानवीय त्रुटीलाई नै मान्न सकिन्छ ।

अन्तत :
सर्वप्रथम सडक दुर्घटना सम्बन्धी जनचेतना जगाउन जरुरी छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीसँगै सचेतना अभियानलाई पनि निरन्तरता दिन आवश्यक छ । यसका साथै लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवनका जाँच पनि गर्न जरुरी छ । निश्चित गति, सीमा, मोटरसाइकल चालक र पछाडि बस्ने दुवैले हेलमेट प्रयोग, ड्राइभर र अगाडि बस्ने यात्रुले सिट बेल्ट प्रयोग, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोगमा प्रतिबन्धजस्ता नियम लागू गर्न बलियो कानुन आवश्यक छ । त्यसको नियमनका लागि पनि जोड दिन जरुरी छ । त्यस्तै सवारी साधनको सुरक्षा मापदण्ड पनि महत्वपूर्ण छ। सबै सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक परीक्षण गराउन, सिट बेल्टको उपलब्धता सुनिश्चित गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे