LISTEN LIVE RADIO

जातीय पहिचान जोगाउन संघीयता ल्याएका हाैं : मुख्यमन्त्री चाैधरी



जातीय पहिचान जोगाउन संघीयता ल्याएका हाैं : मुख्यमन्त्री चाैधरी

भालुवाङ ७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले जातीय पहिचान जोगाउन संघीयता ल्याएकाे बताएका छन् ।

पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने लक्ष्यका साथ धर्मनिर्पेक्षेता, संघीय गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रप्रती खबरदारी गर्दै मगर र थारुको भाषा प्रदेश सरकारी कार्यालयमा कार्यान्वयन गराउन दवाव दिने उद्देशका साथ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया सिरिचाैरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको बृहत मगर जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चाैधरीले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री चाैधरीले नेपाल बहुजातिक, बहुभाषिक, बहुसंस्कृति भएको देश भएकोले सवै भाषा तथा संस्कृति संरक्षण गर्ने दायित्व सरकारको रहेको बताएका छन् । मुख्यमन्त्री चौधरीले थारु, मगर र जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई नष्ट गर्न नपाइने बताएका छन् । प्रहरीले घरेलु मदिरालाई बिक्री वितरणमा निषेध गर्दै त्यस्तो पाइएमा घोप्टाइदिने, फालिदिने गरेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री चौधरीले अब कसैले त्यस्तो गरेको पाइएमा प्रदेश सरकारले कारबाही गर्ने बताए ।

उनले जाँड, रक्सीलाई ब्रान्डिङ गरेर बेच्नको लागि प्रदेश सरकारबाट बजेट नै विनियोजन गरिएको बताए । ‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन,’ चौधरीले भने, ‘कोदो, मैवा, अनादी लगायतको रक्सीलाई ब्रान्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।’

स्थानीय खानपानलाई ब्रान्डिङ गरेर स्वदेशको बजार र संसारभर पुर्‍याउन सके त्यसैको माध्यमबाट आर्थिक समृद्धि आउन सक्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको बताए । उनले लुम्बिनीमात्रै नभएर नेपालकै खानपानलाई बाहिर बेच्नुपर्ने बताएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले मगर, थारू लगायत विभिन्न जातजातिको भाषालाई कामकाजको भाषा बनाउने सरकारको नीति रहेको बताएका छन् । साथै विभिन्न भाषाभाषीलाई कामकाजीको भाषा बनाउन सरकारले कानुन बनाउने तयारी गरिरहेको बताएका छन् । मगर समुदायले उठाएको माग जायज रहेकोले त्यस माग प्रति आफू प्रतिवद्व रहेको बताए । यसै बीच सभामुख घर्तीले पछिल्लो समय मगर समुदायको जनसंख्या घटेको प्रति दुख व्यक्त गरे । मगर समुदायको जनसंख्या घट्नुको कारण पत्ता लगाउनु पर्ने उनले बताएका छन् ।

त्यस्तै उनले मगर समुदायले भाषा संरक्षण गर्न ध्यान दिनुपर्ने र त्यसका लागि कक्षा सञ्चालन गर्न आवश्यक रहेको समेत बताएका छन् । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीको प्रमुख आतिथ्यता तथा सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभा सुरू हुनु पुर्व विभिन्न संस्कृति झल्किने खालका झाँकी तथा र्‍याली निकालिएको थियोे भने कार्यक्रम स्थलमा विभिन्न नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न माग गरेको छ । त्यस्तै, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रपूर्वक आक्रमणप्रति खबरदारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे