LISTEN LIVE RADIO

लालमटिया साना किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा



लालमटिया साना किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा

भालुवाङ ८ पुस । लालमटिया साना किसान कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका-२ लालमटियाको छैठौं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका-२ लालमटियामा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष सीता पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि चाैधरीले कृषकहरूले कृषिका लागि बजेट माग नगर्ने गरेको बताएका छन् । कृषकलाई चाहिने के चिज हो, कृषकहरूबाटै माग भइ आएमा स्थानीय सरकारले बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् ।

सभामा अध्यक्षको प्रतिवेदन संस्थाकी अध्यक्ष सीता पोख्रेल, लेखा प्रतिवेदन लेखा संयोजक प्रतीक्षा अधिकारी र वार्षिक प्रतिवेदन संस्थाकी प्रबन्धक कविता अधिकारीले प्रस्तुत गरेका थिए । संस्थाकी सदस्य विष्णा केसीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा दाङ जिल्ला कृषि सहकारी संघकी अध्यक्ष तथा लुम्बिनी प्रदेश कोषाध्यक्ष पदमा आचार्य, कालिका सामुदायिक वनका कार्यवाहक अध्यक्ष वेदुलाल सुवेदी, सतवरिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेजमणी ज्ञवाली, उरहरी साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष अर्जुन बस्नेत र नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति सदस्य चिरञ्जीवी केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा संस्थाले २ जना कृषकहरूलाई सम्मान स्वरूपमा कृषि सामाग्री प्रदान गरेको छ । जसमा तरकारी खेती तर्फ पिपरखुट्टीकी अमी पाण्डेलाई स्प्रे ट्याङ्की र पशु तर्फ मझनीगढकी कुमारी पिमा वलीलाई दूध बोक्ने क्यान प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन संस्थाकी प्रबन्धक कविता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे