LISTEN LIVE RADIO

दाङमा महिलामाथि हुने यौन हिंसा बढ्यो



दाङमा महिलामाथि हुने यौन हिंसा बढ्यो

दाङ १७ साउन । दाङमा महिलामाथि हुने यौन हिंसाका घटना वर्षेनी बढ्दो रहेकोे छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार वर्षको अवधीमा जबरजस्ती करणीका २ सय ६० मुद्दा दर्ता भएका छन् भने ५ सय ८५ जना महिला तथा बालिका पीडित भएका छन् ।

तथ्याङ्क अनुसार बितेको चार आर्थिक वर्षमा १८ वर्षभन्दा मुनिका १ सय ८५ बालिका पीडित भएका छन् । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका ६१ महिला, ३१ देखि ५० वर्षसम्मका ४४ महिला र ५१ वर्षमाथिका २ सय ९५ महिला पीडित भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका ४४ मुद्दा दर्ता भएका छन् । जसमा १८ वर्ष मुनिका पीडित २८ जना रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १९ देखि ३० वर्षसम्मका ९ जना, ३१ देखि ५० सम्मका ६, ५१ देखि ७० सम्मका एकजना पीडित रहेको देखिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ८१ मुद्दा दर्ता भएका छन् । जसमा ५५ जना १८ वर्षमुनिका पीडित रहेका छन् । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या २१ रहेको छ । त्यसैगरि ३१ देखि ५० वर्षसम्मका ८ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका १ जना पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणीका ८३ मुद्दा दर्ता भएका छन् । जसमा १८ वर्ष मुनिका ५० जना रहकोको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या १२ रहेको छ । त्यसैगरि ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका ३ जना पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै बितेको आर्थिक वर्षमा ५२ मुद्दा दर्ता भएको छ । जसमा १८ वर्ष मुनिका पीडितको संख्या ५२ रहेको छ । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या ५२ रहेको छ । त्यसैगरि ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका ११ जना पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै बितेको चार वर्षको अवधीमा घटनामा संलग्न २ सय ३२ जना मानिस पक्राउ परेका छन् । जसमा १८ वर्षसम्मका ५१ जना, १९ देखि ३० वर्षसम्मका १ सय ७०, ३१ देखि ५० वर्षसम्मका ८७ र ५१ देखि ५० वर्षसम्मका २७ जना रहेका छन् ।

उनका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग बढ्नु, चेतनाको कमी, कुनै अपरिचित व्यक्तिसँग चाडै नजिक हुनुले पनि यौन हिंसाका घटना बढेका छन् । त्यस्तै अभिभावकको कम निगरानी तथा अभिभावकले भनेको नमानेर कुलतमा फस्दा पनि जबरजस्ती करणीका घटना बढेको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे