कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ, आजै सानो आकारको मन्त्री मण्डल विस्तार हुने



कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ, आजै सानो आकारको मन्त्री मण्डल विस्तार हुने

विराटनगर १७ साउन । कोशी प्रदेशमा पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा अदालतको आदेशबाट बर्खास्तीमा परेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

थापाले आजै कांग्रेसबाट एक, एकीकृत समाजवादीबाट एक र माओवादीबाट एक जनालाई मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री थापाले भने साढे १० बजे पद तथा गोपनीयताको शपथ खाँदैछन् । उनले पद तथा गोपनीयताको शपथ खाएसँगै थप तीन जनालाई शपथ खुवाउने तयारी भएको छ ।

एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट मन्त्री बन्नेको नाम फाइनल भए पनि माओवादीमा भने अझै कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन । कांग्रेसबाट प्रदीप सुनुवार पुन मन्त्री हुने छन् ।

ओखलढुङ्गा १ (१) बाट विजयी भएका सुनुवार यस अघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी थिए । यस्तै एकीकृत समाजवादीबाट भने कलमप्रसाद जवेगु पनि मन्त्री हुँदै छन् । उनी पनि अदालतले बरखास्त गरेको सरकारमा मन्त्री भएका थिए ।

माओवादीबाट कसलाई मन्त्री बनाउने भन्नेमा अझै टुङ्गो लागिसकेको छैन । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर उनलाई मन्त्री बनाउने की पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा माओवादी भित्र कुरा मिलिसकेको छैन ।

पहिलो चरणमा बाबुरामलाई नै मन्त्री बनाएर जाने तयारी भएको माओवादी स्रोतले जनाएको छ । यसअघिको असंवैधानिक भनिएको मन्त्रिपरिषदमा सहभागी भएका जीवन आचार्यले यस पटक भने मन्त्री बन्न रहर नगरेको देखिएको छ ।

‘सरकार दिगो जान्छ की जाँदैन भन्नेमा छ । दिगो सरकारमा मन्त्री भएर के गर्न’ भन्ने मुडमा आचार्य पुगेको उनी निकटहरू बताउँछन् । आचार्यले मन नगरे पहिलो चरणमा गौतम नै माओवादीबाट मन्त्री हुने छन् । माओवादी सांसद राजेन्द्र कार्कीले केन्द्रीय कमिटीको बैठक सकेपछि मात्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुङ्गो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे