LISTEN LIVE RADIO

नवनिर्वाचित राष्ट्रपति पौडेलको राजनीतिक यात्रा : प्रधानमन्त्रीमा असफल, पहिलो प्रयासमै राष्ट्रपति



नवनिर्वाचित राष्ट्रपति पौडेलको राजनीतिक यात्रा : प्रधानमन्त्रीमा असफल, पहिलो प्रयासमै राष्ट्रपति

राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि १६ वर्षको उमेरमा राजनीतिमा होमिएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म तनहुँको बाहुन पोखरामा २००१ सालमा भएको हो ।

२०१८ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा सहभागिता जनाएका पौडेल २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनको अभियन्ताकोरुपमा अगाडि आइ सकेका थिए । स्ववियु आन्दोलनका अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसको विद्यार्थी युनियन सभापति चुनिएका थिए । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव निर्वाचित भएका उनी २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने ।

त्यसपछि निरन्तर राजनीतिमा सक्रिय पौडेल २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक बने। २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसपछि अहिलेसम्म कांग्रेसको केन्द्रीय समितिमा रहेर काम गरि रहेका छन् । पञ्चायत विरुद्धको आन्दोलनमा समेत क्रियाशील पौडेल २०४६ सालमा प्रजातन्त्र पुनस्थापनापछि भएको २०४८ सालको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए । त्यसपछि बनेको सरकारमा उनी स्थानीय विकासमन्त्री हुनुभएका पौडेल दोस्रोपटक २०४९ सालमा स्थानीय विकास तथा कृषि मन्त्री बने। उनी २०५१ सालको मध्यावधि चुनावमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रतिनिधि सभामा सभाको सभामुख भएका थिए । २०५६ सालको चुनावमा तनहुँ २ बाट तेस्रो पटक सांसद चुनिनु भएका पौडेल २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री भएका थिए ।

कांग्रेसको राजनीतिमा २०६२ सालमा महामन्त्री हुनुभएका पौडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको शान्ति सचिवालयको संयोजक भए । २०६३ सालमा शान्ति प्रक्रियामा माओवादीसमेत समावेश भएको सरकारमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। २०६२ सालमा कांग्रेस महामन्त्री हुनुभएका पौडेल २०६४ सालमा उपसभापति भए। २०६४ सालको पहिलो संविधान सभा चुनावमा पौडेल तनहुँको २ नम्बर क्षेत्रबाट नै संविधान सभा सदस्यका रुपमा निर्वाचित भए । २०६५ सालमा उहाँ नेपाली कांग्रेस संसदीय दलको नेता बने । त्यस्तै २०७० सालको दोस्रो संविधान सभा चुनावमा उनी पाँचौं पटक पनि तनहुँ २ बाट नै चुनिए । २०७४ सालको चुनावमा तनहुँ २ बाट पराजय भोगे पनि उहाँ २०७८ को चुनावमा भने विजयी भए ।

राजनीतिमा निष्ठा र इमानदार राजनीतिज्ञका रुपमा चिनिने पौडेलले पञ्चायत व्यवस्थाको विरुद्धमा २०१९ देखि २०४६ सालसम्म भएको विभिन्न चरणको आन्दोलन तथा संघर्षको क्रममा धेरै पटक गरी १३ वर्ष जेल जीवनसमेत बिताएका छन् । शालिन नेताकारुपमा समेत चिनिने पौडेलले नेपालीमा स्नातकोत्तर तथा संस्कृत साहित्यमा शास्त्री पास गरेका छन् भने उनका प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका धेरै पुस्तक प्रकाशित छन् ।

प्रधानमन्त्रीमा १७ पटकको पराजय

पञ्चायत विरोधी राजनीतिदेखि गणतन्त्रसम्म आइपुग्दा निरन्तर क्रियाशील र संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेललाई २०६७ सालमा भएको प्रधानमन्त्री चुनावलाई लिएर उडाउने पनि गरिन्छ । सत्र पटक हारेका प्रधानमन्त्री, हुन नसकेका प्रधानमन्त्री अनि कोहीले अलि धेरै पटक पराजय भोग्यो भने रामचन्द्रको चुनाव जस्तो पनि भन्ने गरिन्छ । तर, यसमा उहाँ आफू स्वयंको भूमिकभन्दा तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार मानिन्छ ।

२०६७ साउनदेखि सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटक सम्म तीन जना बीच प्रतिस्पर्धा भयो ।

आठौँ प्रतिस्पर्धापछि भने प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर भए । त्यसपछि पौडेल र खनाल बीच १७ पटक प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा भयो । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । र, अर्को चरणमा प्रचण्डको सहयोगमा खनाल प्रधानमन्त्री भए भने रामचन्द्र पौडेलको १७ पटकको प्रयत्न त्यसै खेर गयो जुन अहिले पनि उनको जीवनको एउटा नमिठो घटनाकारुपमा लिने गरिन्छ ।

देउवाको विरोधी, देउवाकै भर

नेपाली कांग्रेसको शीर्ष नेताहरु विपी कोइराला तथा सुवर्णशमशेरको समयमा हुने गरेको अन्तरसंघर्षका समयमा समेत सम्वाद गराएर सम्बन्ध सुमधुर बनाएर मध्यमार्गी नेताको रुपमा बनाएको परिचय अहिले पनि कायमै छ । तर, सँगसँगै पार्टीमा उनलाई आवश्यक समयमा सही निर्णय गर्न नसक्ने र निर्णय गर्नुपर्दा जहिले पनि अलमलमा रहने नेताका रुपमा पनि चिनिन्छ ।

पार्टीमा मध्यमार्गी छवी बनाएका पौडेल पटक, पटक सरकार तथा पार्टीको उच्च तहमा पुगे पनि अहिलेसम्म पहिलो बन्ने सौभाग्य प्राप्त भएको छैन । सरकारमा उपप्रधानमन्त्री, गृहमन्त्री, सभामुख तथा पार्टीमा महामन्त्री र उपसभापति तथा कार्यवाहक सभापतिसम्म भए पनि पार्टी सभापति तथा सरकारमा प्रधानमन्त्री हुने अवसर भने उनलाई कहिल्यै आएन । कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैँ पाखा पार्दै आफू प्रधानमन्त्री तथा सभापति दुवै बनेको तर, लामो समय सँगै राजनीति गरेका पौडेललाई कहिल्यै अवसर नदिएको आरोप पनि देउवालाई लाग्ने गरेको छ ।

पार्टीको चौधौँ महाधिवेशनमा विपक्षी खेमाको नेतृत्व गर्दै पौडेलले सभापति उम्मेदवार हुने बताएका थिए । तर, पछि देउवाले भेटेपछि उनले उम्मेदवारी दिएनन् र तटस्थ बसेर देउवालाई अप्रत्यक्ष रुपमा समर्थन गरे । त्यसबेला सभापतिको प्रतिस्पर्धामा रहेका देउवा, शेखर कोइराला, तथा प्रकाशमान सिंहले पचास प्रतिशत मत नकाटाएका कारण दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा सिंह तथा पौडेल दुवै जनाले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा विजयी भएका थिए । यसरी देउवाको निरन्तर प्रतिस्पर्धी तथा विपक्षीकोरुपमा देखिनुभएका पौडेल चौधौँ महाधिवेशनपछि भने समर्थनमा रहेका थिए । चौधौँ महाधिवेशनपछि पौडेलको देउवालाई समर्थनको सिलसिला संसदीय दलको नेताकोरुपमा समेत रह्यो ।

पौडेलले देउवालाई साथ दिएपछि देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि बढाउका हुन् । र पछिल्लो चुनावी गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले पौडेललाई उनको निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने आश्वासन समेत दिएका थिए । र, प्रचण्ड तथा देउवाको सहयोगमा उहाँ यसपटक सहज रुपमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उज्यालाे अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे