LISTEN LIVE RADIO

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाही बिरूद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्धा दर्ता



दाङ १९ माघ ।  स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । शाहीले तत्कालीन स्वास्थ्य कार्यालय जुम्लाको प्रमुख हुँदा औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख शाही सहित जिल्लाका अन्य कार्यक्रममा सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विल मात्र खरिद गरी कार्यालयको सञ्चालन बजेट खर्च गरेको भन्ने उजुरी परेको थियो ।

सो उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख शाही र स्टोर किपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । मेडिकल सामग्रीहरू खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि हुन गएको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ । विगो ८१ हजार ८२२ रुपैयाँ असुल उपर गर्न माग दावी गदै मुद्दा दर्ता गरिएको हो ।

तत्कालीन कार्यालय प्रमुख शाहीले खरिद नगरेको उक्त औषधी स्टोरमा दाखिला समेत गरेको देखिएपछि स्टोर किपर खनाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै प्रमुख शाही पदबाट निलम्बनमा परेका छन् । उनी माघ १३ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् । स्रोतका अनुसार उनी मुद्दा लाग्न साथ काठमाडौं गइसकेका छन् । उनको मुद्दा माघ १२ गते दायर भएको हो 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे