LISTEN LIVE RADIO

मुख्यमन्त्री गिरी र राप्तीका अध्यक्ष बिष्ट बीच भेटवार्ता, राेक्का जग्गा तत्काल फुकुवा गर्न आग्रह



भालुवाङ १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट बीच आइतवार बेलुकी भेटघाट तथा समसामयिक विषयमा छलफल भएको छ।

मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उनकै निवास माैरीघाटमा पुगेका थिए । भेटमा अध्यक्ष विष्टले यस क्षेत्रमा राजधानी कार्यन्यवन गर्ने नाममा लामाे समय सम्म जग्गा राेक्का हुँदा स्थानीयहरुले निकै सास्ती भाेग्नु परेकाे बताउँदै जग्गा एकीकरण कार्यलाई असर नपर्ने गरि तत्काल राेक्का जग्गा फुकुवा गर्न आग्रह गरेका छन् ।

उनले प्रदेश मन्त्रालयहरु व्यवस्थापन गर्नका लागि आफुहरुले सम्पूर्ण वडा कार्यालयहरु उपलब्ध गराएको स्मरण गराउदै आवश्यक परे अन्य भाैतिक संरचनाहरु समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै भेटमा अध्यक्ष विष्टले केही मन्त्रालयहरु राजधानी ताेकिएकाे क्षेत्र भन्दा अनेत्र स्थापना गर्न लागिकाे प्रति असन्तुष्टी जनाउँदै राजधानी ताेकिएकै क्षेत्रमा स्थापना गर्नुपर्ने कुरामा जाेड दिए ।

भेटपछि मुख्यमन्त्री गिरीले जग्गा राेक्का गर्नु कुनै रहर नभई बाध्यता रहेको बताए । उनले भने “जुन उदेश्यले जग्गा राेक्का गरिएको हाे त्याे उदेश्य छिटो भन्दा छिटो पूरा गर्न तर्फ सबैले पहल गर्नु पर्छ। ” त्यस्तै उनले आफू नियमित रुपमै राजधानीमा रहेर काम गर्ने बताउँदै स्थानीय र प्रदेश सरकारले एक आपसमा सहयाेग आदान प्रदान हुनुपर्ने बताए । तत्कालका लागि केही मन्त्रालय राख्न भाैतिक अभाव रहेकाे बताउँदै अस्थायी रुपमा केहि वर्षका लागि एक दुई ओटा मन्त्रालयहरु बाहिर स्थापना गर्दैमा अन्यथा नलिन समेत आग्रह गरे । साे अवरमा उनले प्रदेश सरकारको आफ्नै भाैतिक संरचना निर्माण पश्चात् सबै मन्त्रालय यहि ठाउँमा स्थायी रुपमा स्थापना हुने विश्वास समेत दिलाएका थिए । त्यस्तै फरक प्रसंगमा मुख्यमन्त्री गिरीले यस क्षेत्र कृषिकाे लागि उर्वर क्षेत्र भएकाले युवाहरुलाई कृषि पेशा तर्फ आक्रशित गराउँदै युवा साेराेजगार बढाउन सकिने र त्यसका लागि प्रदेश सरकार स्थानीय सरकार सँग हातेमालो गर्न तयार रहेको बताए ।

साे अवसरमा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय प्रमुख नेवबहादुर वली, वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरी, ७ का वडा अध्यक्ष सिताराम चाैधरी, कार्यपालिका सदस्य सावित्री चाैधरी र वडा नम्बर ४ का वडा सदस्य राेशन चाैधरी लगायतको सहभागीता रहेको थियाे । साथै भेटका क्रममा अध्यक्ष विष्टले मुख्यमन्त्री गिरीलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे