राप्ती गाउँपालिका ४ नम्बर वडा अध्यक्ष वीरबहादुर चौधरीले विरुवा रोपेर जन्मदिन मनाए



भालुवाङ १० पुस । पछिल्लो समय जन्मदिन मनाउनु नेपालमा संस्कार जस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहर देखि गाउँ सम्म नै देखिन्छ ।जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न र यो अवसरलाई मानव जीवन पद्धतिको दिगो तथा न्यायोचित सहयोगी बनाउन दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीले उदाहरणीय काम गरेका छन् ।
वडा अध्यक्ष चौधरीले आइतवार आफ्नो ५० औँ जन्मदिनको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित दोलाईखोला करिडोर र शान्ति सामुदायिक वनको हाता भित्र दालचिनीको बिरुवा रोपेर सबैलाई वातावरण संरक्षण गर्न सन्देश दिएका छन् । गलत मानसिकतालाई निरुत्साहित गर्न र मानव गतिविधिकै कारण वातावरणमा परेको नकारात्मक प्रभाव कम गर्न बिरुवा रोपिएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।उनले भने, “फेरिएको जीवनशैली एवं विकासका नाममा दिनहुँ भित्रिने प्लाष्टिकजन्य सामग्रीले आज वातावरण प्रदूषित बन्दै गएको र जलवायुमा प्रतिकूल असर परेको छ, “धेरैले जन्मदिवसको महत्वलाई पैसाको दम्भसँग साटेको देख्छु, केक काटेर, भोजभतेर गरेको देख्दा उदेक लागेर आउँछ, जसको उपलब्धि सामान्यतः अधिक खुशी साट्नुबाहेक अन्य त्यस्तो केही देख्दिन,” उनले भने । त्यतिमात्र होइन, उनले हरेकलाई आफू धर्तीमा टेकेको दिनलाई होटल, प्लाष्टिक र बोतलसँग नजोडी रुख रोपेर मानवतावादी कर्ममा समाहित हुन आग्रह गरेका छन् ।जन्म दिनको अवसरमा विरुवा रोपण कार्यक्रममा सहभागी भएकाहरुले बिरुवा रोपण गरेर वडा अध्यक्षले गतिलो काम गरेकोमा धन्यवाद दिदै मानव जिवनका लागि बोट विरुवा आवश्वक रहेको बताएका छन् । दोलाईखोला करिडोर क्षेत्रमा छतिवन, गुलमोर र दालचिनी गरि ५४ विरुवा र शान्ति सामुदायिक वनको १० कठ्ठा क्षेत्रफलमा दालचिनीको १ सय २१ विरुवा रोपिएको छ । विरुवा रोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा सदस्यहरु, कर्मचारीहरु, टोलविकास संस्थाका प्रतिनिधी, सर्वसाधारण, शिक्षक र पत्रकारहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष चौधरीले जस्तै सवै मानव जातीले यसरी नै बोटविरुवा रोपेर वा दिनदुखीहरुलाई सहयोग गरेर जन्म दिन मनाउन सक्ने हो भने समाजमा हुने विकृती कम हुँदै जाने र मानव जिवनमा परिवर्तन आउन सक्छ । त्यसैले यस तर्फ सवैको धान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे