LISTEN LIVE RADIO

समाचार टिप्पणी : पाँच बर्ष गुमनाम दुर्गा, भोट माग्न झुल्किदा के भन्छन् प्यूठानी ?



समाचार टिप्पणी : पाँच बर्ष गुमनाम दुर्गा, भोट माग्न झुल्किदा के भन्छन् प्यूठानी ?

प्यूठान ४ कार्तिक । प्यूठान आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधी बनेर गइन् । बामठवन्धनभित्रका दल नेकपा एमाले र माओवादी केन्द्रले उनलाई साथ दिए ।

निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको परिवर्तन हुने भन्दै पौडेल प्यूठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई बिश्वास गरे, भोट दिएर जिताए । प्यूठानबाट जित्नु अघि उनी ०७० सालमा समानुपातिक सांसद् थिइन् । २०७४ मा नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोख्रेललाई पराजित गर्दै प्यूठानको प्रतिनिधि बनेर सांसद् छिरेकी थिइन् उनी ।

सांसद् प्रवेशपछि उनले न प्यूठानबासीको समस्या र बिकासका एजेण्डा उठाईन न चुनावअघि बाँढेका आश्वासन पूरा गर्न चासो दिईन । उनको ५ वर्षे कार्यकाल ‘गफ’ गरेरै बित्यो । यतिसम्म कि ५ वर्षसम्म प्यूठान फर्केर आईनन् उनी । दुर्गाको ५ बर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन, पाए त केवल आश्वासन अनि समृद्धिका सपना ।

पौडेल ५ वर्षसम्म आफुले चुनाव जितेको क्षेत्र प्यूठान फर्किएर नै नआएको जिल्लावासीहरू बताउँछन् । पाँच वर्षसम्म धेरैले उनको अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन् । ०७० पछि कोरोनाको महाविपत्ती आयो, कैयौं दुर्घटना भए धेरै धनजनको क्षति भयो, तर दुर्गा सहानुभूति दिन समेत प्यूठान फर्किनन् ।

चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले प्यूठानमा फेरी मत माग्न गाउँ छिरेकी छिन । उनको पछाडी पहिले बामगठवन्धन थियो अहिले सत्तारुढका पाँच दलीय गठवन्धन छन् । न राजनीतिक पहुँच, न ठूलो पार्टी तर उनलाई विजयी गराउनका लागि प्यूठानका ठूला दलहरु किन उनको पछाडी लागे होलान् नागरिकहरु टिप्पणी गर्न थालेका छन् ।

पौडेल प्यूठानको प्रतिनिधी भएकै कारण जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ । उनी सम्वद्ध दल राजमोभित्र समेत यसपाली पौडेललाई उम्मेदवारी बनाउन नहुने चर्को आलोचना थियो । तर, मोहनविक्रम सिँहकै पत्नी भएकै कारण उनले पूनः टिकट पाएकी थिइन् ।

राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोम बहादुर केसी एक भोटले उम्मेदवारी हुनबाट बञ्चित भएको स्रोतले बताएको छ । गठवन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरु फेरी दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे