झण्डै चार घण्टा पछि अबरुद्ध भालुवाङ—लमही सडक खण्ड खुल्यो



झण्डै चार घण्टा पछि अबरुद्ध भालुवाङ—लमही सडक खण्ड खुल्यो

पिडितपक्षलाई तत्काल क्रिया खर्च, क्षतिपुर्ति दिलाउने तथा ट्रक चालकलाई हदै सम्मको कानुनी कार्वाही गर्ने सहमति

सन्तोषकुमार गुप्ता, भालुवाङ २६ कार्तिक ।

दाङ—देउखुरीको अबरुद्ध भालुवाङ—लमही सडक खण्ड झण्डै चार घण्टापछि खुलेको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएपछि आज बिहान करिब ९ बजे देखि पिडित पक्षले गरेको बन्द झण्डै चार घण्टा पछि खुलेको हो ।

प्रहरी र पिडित पक्षबीच लामो कसरतपछि भएको सहमतिमा पिडितपक्षलाई जस्तोसुकै व्यवधानका बागजुद तत्काल क्रिया खर्च, क्षतिपुर्ति दिलाउने तथा प्रचलित कानुन बमोजिम ट्रक चालकलाई हदै सम्मको कानुनी कार्वाही गर्ने सहमतिमा दिउँसो करिब १ बजे अबरुद्ध सडक खुलाइएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

प्रहरी, स्थानीय जनप्रतिनिधि र पिडितपक्ष बीच भएको सहमति अनुसार कानुनी प्रक्रिया अगाडि नबढाए वा क्षतिपुर्ति, क्रियाखर्च दिन आलटाल गरे गराएमा प्रतिबादी सवारी चालकलाई हदै सम्मको सजाय मागदाबी गर्ने सहमति समेत भएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको बिशेष उपस्थिीमा भएको छलफलमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक सुमित खड्का, राप्ती गाउँपालिका २ नम्बर वडाध्यक्ष जगतबहादुर थापा, ४ नम्बर वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, ५ नम्बर वडाध्यक्ष गोबद्धन रावत, ८ नम्बर वडाध्यक्ष गोकर्णबहादुर रानामगर, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्ट, पिडितपक्षको तर्फबाट मृतक दिनेश घर्तीमगरका काका अमृत घर्तीमगर, मृतक मनोज गाहाका बुवा टुकलाल गाहा, मृतक कसम पुनका बुवा जितराज पुन, सन्तोषबाबु पुनमगर, स्थानीय समाजिक अगुवाहरु लक्ष्मण सारुमगर, रामबहादुर मल्ल, हरि भुसाल लगायतको रोहबरमा छलफल भई सहमति भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कमलरोडका १६ वर्षका मनोज गाहा, सोही गाउँपालिका वडा नम्बर २ लालमटियाका १८ वर्षिय कसम पुन र वडा नम्बर ८ पिपरीका १८ वर्षिय दिनेश घर्तीको घटनास्थलमै ज्यान गएको थियो । फरार रहेका ट्रक चालक भने अहिले भालुवाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे