LISTEN LIVE RADIO

लमही नगरपालिकाद्वारा ९ वटा चारपांग्रे सवारीसाधान खरिदमा मात्रै झण्डै चार करोड खर्च



लमही नगरपालिकाद्वारा ९ वटा चारपांग्रे सवारीसाधान खरिदमा मात्रै झण्डै चार करोड खर्च

लमही ७ असार । स्थानीय सरकार सञ्चालनको पाँच बर्षमा लमही नगरपालिकाले चारपांग्रे सवारी साधन खरिदमा मात्रै झण्डै चार करोड बढी रुपैयाँ खर्च गरेको छ ।

मुलुक संघीयतामा गइसकेपछि पहिलो चरणको स्थानीय तहको निर्बाचन २०७४ सालमा सम्पन्न भएको थियो । सो अवधिका तत्कालीन नगर प्रमुख कुलबहादुर केसी र आर्थिक समितिका संयोजक तथा उपप्रमुख देबका बेलबासेको पालामा लमही नगरपालिकाले बिभिन्न ९ वटा नयाँ चारपांग्रे सवारी साधन खरिद गरेको हो ।

सवारी साधन खरिदमा ४ करोड ३ लाख १५ हजार ९ सय ६ रुपैयाँ खर्च भएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । उनका अनुसार रा १ झ १ सय ४६ नम्बरको स्कारपियो खरिदमा ४९ लाख ६० हजार खर्च भएको छ । अर्काे रा १ झ ६७४ नम्बरको स्कारपियो खरिदमा ५३ लाख ८० हजार खर्च भएको हो ।

त्यसैगरी ३२ लाख ७५ हजारमा बा २ झ ४२ ० १ नम्बरको कार खरिद गरिएको छ । ४२ लाख ४६ हजारमा दमकल, ३५ लाखमा लोडर, ३९ लाख ४० हजारमा अर्को लोडर, १ करोड २७ लाख ८० हजारमा २ वटा टिप्पर खरिद गरिएको छ । त्यसैगरी १३ लाख ४९ हजारमा १ थान ट्रलीसहितको ट्याक्टर खरिद गरिएको छ ।

१७ लाख ६५ हजार ४ सय ८६ रुपैयाँमा एक थान सक्सन मेसिन खरिद गरिएको छ । उक्त चारपांग्रे साधनहरु २०७४ सालपछि खरिद गरिएका हुन् । तीबाहेक लमही नगरपालिकामा साविक प्राथमिक स्वास्थ्य केन्द्रको १ थान एम्बुलेन्स एक थान शवबाहन र स्वास्थ्य चौकी सतबरियाबाट खरिद एम्बुलेन्स तथा आर्थिक बर्ष २०७२÷७३ मा ३२ लाख ५ हजारमा खरिद गरिएको एक थान पिकअप भ्यान र ३५ लाखमा खरिद गरिएको एक थान लोडर रहेको छ ।

लमही खानेपानी तथा सरसफाई संस्थाले हालको लमही नगरपालिकालाई सौजन्य उपलब्ध गराएको एक थान ट्रलीसहितको ट्याक्टर गरी चारपांग्रे सवारी साधनको संख्या १५ वटा रहेकोे सूचनाको हकअन्र्तगत माग गरेको सूचनामा उल्लेख गरिएको छ । हाईवेका प्रबन्ध निर्देशक केपी घिमिरेले सूचनाको हक प्रयोग गरी सूचना माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे