खानेपानीको बिल महंगो आएको भन्दै सिसहनियाँका उपभोक्ता आन्दोलित



खानेपानीको बिल महंगो आएको  भन्दै सिसहनियाँका उपभोक्ता आन्दोलित

भालुवाङ १७ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ५, ७ र ८ का स्थानीयहरूले खानेपानीको मिटर बिल बढी आएको भन्दै आन्दोलित भएका छन् ।

प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण सुरू गरेको खानेपानीको बिल अत्यन्त महँगो भएको भन्दै  उपभोक्ताहरूले गुनासो समेत गरेका छन् ।

खानेपानी आयोजना निर्माण कार्य भर्खरै सम्पन्न गरेर उपभोक्ताहरूको घर घरमा पानी पुर्‍याएको संस्था पहिलो वर्षको पहिलो पानी महसुल बिलमै विवादित बनेको छ । घर घरमा पानी आयो भन्दै  खुसी भएका उपभोक्ताहरू अहिले भने निकै दुखी भएका छन् । सर्वसुलभ र सस्तोमा पानी खाने सोच बनाएर धारा जडान गरेका उपभोक्ताहरू अहिले भने चर्को शुल्क तिर्न परेको भन्दै आक्रोसित बन्न थालेका छन् ।

संस्थाले ७ हजार लिटर सम्म न्यूनटम शुल्क २०० रूपैयाँ, ८ हजार देखि १२ हजार लिटर सम्म ४० रूपैयाँ, १३ हजार देखि २२ हजार लिटर सम्म ६० रूपैयाँ र २३ हजार देखि माथि ८० रूपैयाँ कायम गरेको छ । तर संस्थाको नियम अनुसार बिल नआएर मंहगो बिल आएको उपभोक्ताहरूले बताएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी देवीप्रसाद चाैधरीको ५ हजार ८ सय, वडा नम्बर ७ निवासी रतिदेवी परियारको २ हजार २ सय, सोही वडा कै विमला परियारको १ हजार ६ सय ४० रूपैयाँ बिल आएको उपभोक्ता रणप्रसाद सुवेदीले जानकारी दिएका छन् ।  यी त उदाहरणीय पात्र मात्र हुन् अधिकाशं उपभोक्ताहरूको बिल यसरी नै महंगो आएको छ ।

यसै बिच सोमबार राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा ३ वटा वडाका उपभोक्ताहरूको एक भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । उपभोक्ता  रणप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको शुल्क तत्काल घटाउनु पर्ने, प्रति परिवार ७ हजार लिटर पानी उपलब्ध गराएको संस्थाले १५ हजार लिटर पानी उपलब्ध गराउनु पर्ने माग राखेका छन् । यदि सो माग एक हप्ता भित्र पूरा नभए पहिलो चरणमा खानेपानी कार्यालय घेराउ गर्ने, तालाबन्दी गर्ने र कानुनी उपचार खोज्ने निर्णय समेत गरेका छन् ।

यता खानेपानी संस्थाका अध्यक्ष शान्तराज शर्माले उपभोक्ताहरूकै लापरबाहीले बिल महंगो आएको बताएका छन् । धारामा टुटी ज‍ोड्नु पर्ने हो अधिकाशं उपभोक्ताले धारामा टुटी जोडेका छैनन् । पानीको फोर्स बढी छ, जसका कारण मिटर बढी चलेर बिल महंगो आएको हुन सक्ने उनले बताए । उपभोक्ताले धाराबाट सवै काम गर्दा र लापरबाही गरेर पानी चुहावट बढी भएको हुन सक्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे