स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय स्थापना



स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय स्थापना

भालुवाङ २ कार्तिक । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय स्थापना गरेको छ।

पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थापना भएको क्षेत्रमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापना गरिएको हो। सम्पर्क कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने, हरेक हप्ताको शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसी आउने कार्यक्रम तय गरिएको छ।

यसअघि प्रदेश मन्त्रिपरिषद्को बैठकले राजधानी कार्यान्वयनलाई गति दिन मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै मंगलबार राजधानी क्षेत्रमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो।

‘यहाँ(राजधानी क्षेत्रमा) मेरा राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्नुहुन्छ। म हरेक शुक्रबार यहाँ आउने छु,’ मुख्यमन्त्री कुलप्रसाद केसीले भने,‘राजधानी कार्यान्वयनलाई गति दिन चाहेका छौँ। तिहारलगत्तै अन्य मन्त्रालयहरु पनि यहाँ सर्ने छन्।’

दुई वटा प्रदेश मन्त्रिपरिषद्को बैठक राजधानी क्षेत्रमा राख्ने योजनासमेत बनाइएको छ। हाल यहाँ पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थापना छ। गठवन्धन सरकारले बजेट निर्माण गर्ने क्रममा मन्त्रालयको कामकाज बुटवल मुकामबाट सञ्चालन गरिँदा यहाँ मन्त्रालय सुनसान थियो।

तर, अब मन्त्रालयमा नियमित कामकाजलाई अघि बढाइने बताइएको छ। तिहारपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गर्ने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे