निकट भविष्यमा सम्झना लायक सुन्दर राजधानी निर्माण गर्छाै : मुख्यमन्त्री केसी



निकट भविष्यमा सम्झना लायक सुन्दर राजधानी निर्माण गर्छाै : मुख्यमन्त्री केसी

भालुवाङ २ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निकट भविष्यमा लुम्बिनी प्रदेशकाे स्थायी राजधानीलाई सम्झना लायक गुरुयोजना सहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने बताएका छन् ।

मंगलवार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीकाे राप्ती गाउँपालिकाकाे सभाहलमा  प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले साे कुरा बताएका हुन् ।

अहिले तत्काल प्रदेश राजधानीका लागि मन्त्रालयहरु स्थापनाको निम्ती राप्ती गाउँपालिका क्षेत्रभित्र रहेको चालिस हेक्टर खाली जमिन व्यवस्थापन गर्ने बताए । जमिन प्राप्त भए लगत्तै प्रदेश सरकारले यसको लागि निर्माण गर्छ र संघिय सरकारले सिफरिस गर्छ । संघिय सरकारले जुनदिन हामीलाई जग्गा उपभोग गर्ने अधिकारी दिन्छ त्यस दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने छौं । त्यसको लागि बजेट विनियोजन भइसकेको छ, मुख्यमन्त्री केसीले भने ।

मुख्यमन्त्री केसीले यो वर्षबाट हामीले राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासंगै निकट भविष्यमा  सुन्दर राजधानी र शहर निर्माण गर्ने, आम जनताहरुको विचमा हामीले यस्तो व्यवस्थित राजधानी निर्माण गर्दैछौ भन्ने कुरा सार्वजनिक गरेर संरचना स्थापना गर्ने बताए ।

साथै उनले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ कामहरु थालनी गर्दा तीनवटा कुरालाई आधार स्तम्भ बनाएको र नयाँ नारा स्थापना गरेको बताए । मुख्यमन्त्री  केसीले “समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश” भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधिहरु अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यो वर्ष स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने रहेको भन्दै अर्को वर्षमा संघिय र प्रादेशिक चुनावहरु पनि हामीले सम्पन्न गर्नुपर्नेछ, यो अभिभारा सहित बोकेको यो गठबन्धनको सरकारले आफ्ना गतिविधिहरुलाई सु—व्यवस्थित गर्ने कार्य भइरहेको पनि बताए ।

प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख अतिथिमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण सेन्टरका सह—सचिव जनक नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे