LISTEN LIVE RADIO

प्रदेश स्तरीय यू-१६ क्रिकेटमा दाङ र रुपन्देही फाइनलमा प्रवेश



प्रदेश स्तरीय यू-१६ क्रिकेटमा दाङ र रुपन्देही फाइनलमा प्रवेश

दाङ २७ चैत्र । दाङ र रुपन्देही भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर व्याटिङको निम्तो पाएको दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो । उसका लागि आशिष ओलीले ४०, मनोज पुनमगरले ३६ र केरमान घर्तीमगरले १३ रन जोडे । बलिङमा रोल्पाका अजय डाँगी, प्रवेश गिरी र किसन भारतीले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको रोल्पा १० ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमै सीमित भयो । उसका लागि प्रवेश गिरीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रोल्पालाई सस्तैमा रोक्न दाङका आयुष ओली र सुजल ओलीले समान ३/३ तथा आशिष ओलीले २ र केरमान घर्तीमगरले १/१ विकेट लिए । आशिष ओली म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ४ विकेटको क्षतिमा १९० रन बनायो । उसका लागि अमर मिश्राले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६७, प्रकाश गिरीले २२ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै, विशाल भुसालले ३४ रन जोडे । बलिङमा पाल्पाका नरेश सूर्यवंशी, सुदीप जिसी र सौगात गौतमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पा १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो । उसका लागि रुपेश बश्यालले २६ र सुदीप जिसीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सेजाद आलम र सुरज खड्काले समान ३/३ तथा सन्तोष यादवले २ विकेट लिए । अमर मिश्रा म्यान अफ द म्याच भए । भोली उपाधिका लागि दाङ र रुपन्देही प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे