बेरोजगारलाई सिप प्रबर्धन गर्दै घरेलु कार्यालय



बेरोजगारलाई सिप प्रबर्धन गर्दै घरेलु कार्यालय

शिबराज पन्थी, गढवा १४ फागुन ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले बेरोजगार युवाहरुलाई सिप प्रबर्धन गरि रोजगार उन्मुख गराउने उद्देश्य अनुरुप सिप प्रबर्धन गरिरहेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट कार्यान्वयन हुनेगरी अभियान अन्तर्गत चालु आर्थिक बर्षमा दाङ जिल्लाका स्थानीय पालिकाहरुसंगको समन्वय सहकार्यमा कुल ६० जना बेरोजगार युवाहरुलाई ४५ दिनको सिप सिकाएर दक्ष बनाउन थालिएको कार्यालयका प्रमुख उमबहादुर वलीले जानकारी दिए ।

कार्यालयका अनुसार गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा १० जना मुक्त कमैया,माझी, कुमाल समुदाय, हलिया तथा लोपोन्मुख सिमान्तकृत वर्गका युवाहरुलाई ४५ दिने हाउस वायरिङ तालिम प्रदान गरी उनिहरुलाई आवश्यक पर्ने प्राबिधिक सामाग्रीहरु समेत वितरण गरिएको छ ।

यसैगरी जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा १५ जना महिलाहरुलाई सिलाई कटाई तालिम र १५ जनालाई होजेयारी बुनाई तालिम संचालन गरिएको कार्यालयले जनाएको छ । यसैगरी घोराही उपमहानगरपालिकामा २० जना महिलाहरुलाई ब्युटीपार्लर तालिम दिएर दक्ष बनाई ब्यवसायिक बनाउने कार्यालयको योजना अनुसार काम भै रहेको कार्यालय प्रमुख वलीले वताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा देउखुरीको गोबरडिहा स्थित आदर्श रात्री आधारभूत बिद्यालयमा हाउस वायरिङ तालिम समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यादवले घरेलु तथा साना उद्योग कार्यालयसंगको समन्वय र सहकार्यमा युवाहरुको सिप प्रबर्धन गरि रोजगार उन्मुख गराउन हाउस वायरिङ तालिमको आयोजना गरिएको बताए । सिकेको सिपलाई ब्यबहारमा लागु गरी रोजगार उन्मुख बाटो समात्न आव्हान गर्दै अध्यक्ष यादवले पालिकाको तर्फबाट आगामी दिनमा ब्यवसाय प्रबर्धनमा सहयोग गर्नसक्ने बताए ।

सो अवसरमा तालिममा सहभागी भएका १० जना युवाहरुलाई प्रमाण–पत्रका साथ टुल बक्स सहित आबश्यक पर्ने प्राबिधिक सामाग्रीहरु समेत प्रदान गरिएको थियो । कार्यक्रममा आदर्श रात्री आधारभूत बिद्यालयका प्रअ शोभाराम यादव, कार्यपालिकाका सदस्य शोभा राउत, प्रशिक्षक रञ्जीतकुमार चौधरी र पत्रकार शिबराज पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बिक्रम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे