गढवाले स्वास्थ्य क्षेत्रमा फट्को मारेको छ: अध्यक्ष यादव



गढवाले स्वास्थ्य क्षेत्रमा फट्को मारेको छ: अध्यक्ष यादव

गढवा १३ फागुन । गढवा गाउँपालिकाका स्वास्थ्य शाखाको आयोजना र आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाको समन्वय सहकार्यमा बिहिवार गढवा गाउँपालिकाका ८ वटा वडाहरुमा रहेका कुल १० वटा स्वास्थ्य संस्थाहरुले गरेका कामहरुका बारेमा पालिका स्तरीय प्रस्तुतिकरण तथा समुदायमा देखिएका स्वास्थ्य सम्बन्धि समस्याहरुको बारेमा समिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
समिक्षा गोष्ठीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्वास्थ्य क्षेत्रमा गढवा गाउँपालिकाले आम्दा नेपालसंगको सहकार्यमा उल्लेख्य प्रगति हाँसील गरेको बताए । गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्थाहरु संचालनमा आएका र स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरुको समिक्षा गर्दै समस्याहरुको पहिचान गरि समाधानका उपायहरु निकाल्दै थप प्रगति हाँसिल गर्न समिक्षा बैठकको आयोजना गरिएको बताए ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरुले प्रदान गर्दै आएका सेवा सुविधाहरु, संस्थाहरुको भौतिक तथा जनशक्तिको अवस्था, सुरक्षित मातृत्व, शिसु स्वास्थ्य, गर्भवती आमाहरुको अवस्था, नियमित खोपको प्रगति तथा आपिडी सेवा लगायतका बिषयहरुमा गहन छलफल गरि आगामी दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिका लागि सबै सरोकारवालाहरुबाट प्रतिवद्धता गरिएको थियो ।

गढवा गाउँपालिकाले सुत्केरी पोषण भत्तामा ३ हजार १ सय थप गरि प्रदान गर्ने गरेको, आम्दा नेपालसंगको समन्वयमा कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र गढवा ८ को कोइलाबास स्थित मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरि सेवा सुचारु गरेको, सर्पदंश अस्पतालको स्थापना गरि सेवा प्रवाह गरिएको, कोभिड बिशेष अस्थायी अस्पताल संचालनमा ल्याएको तथा २ जना मेडिकल अधिकृतहरु राखेर एमबिबिएस डाक्टरको सेवा सुचारु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी, वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकी, वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरी, गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाशचन्द्र चौधरी, आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल लगायतले स्वास्थ्य संस्थाहरुमा दिने गरेको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बिषयमा बोलेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारहिरु,स्वास्थ्यकर्मिहरु,स्वयंसेविकाहरु,आम्दा नेपालका कर्मचारीहरु तथा बिभिन्न संघसंस्था लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख रोहीत चौधरी, गंगापरस्पुर स्वास्थ्य चौकीका प्रमुख दिपेश श्रेष्ठ, गढवा स्वास्थ्यचौकी प्रमुख रुपनारायण चौधरी र कोइलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद आचार्य लगायत वडा स्तरका सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरु लगायतले आ–आफ्नो स्वास्थ्य संस्थामा भए गरेका प्रगति बिवरणहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

गाउँपालिकाका स्वास्थ्य उपसंयोजक द्रौपदा सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको समिक्षा गोष्ठीको उद्घाटन चरणलाई आम्दा नेपालका सामूदायिक स्वास्थ्य परिचालक सुनिता चौधरीले संचालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे