लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तुलसी आवासीय विद्यालय प्रथम



लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तुलसी आवासीय विद्यालय प्रथम

दाङ ९ पुस । लुम्बिनी प्रदेश स्तरीय २५ औँ न्यू होराइजन हाजिरी जवाफ प्रतियोगितामा तुलसीपुरको तुलसी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ। मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय र जनज्योति विद्या मन्दिर घोराही तृतीय भएका छन्।

प्रथम हुने तुलसी आवासीय माध्यामिक विद्यालयले ६ हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले ४ हजार पाँच सय नगद, प्रमाणपत्र र ट्रफी, र तृतीय हुने जनज्योति विद्या मन्दिर घोराहीले ३ हजार नगद रुपैयाँ, प्रमाणपत्र र ट्रफी हात पारेका छन्।

न्यू होराइजन अंग्रेजी आवासीय माध्यामिक विद्यालय बुटवलले आयोजना गरेको यस प्रतियोगितामा प्रदेशका २० निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले बताए। लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाइबाहेक बाह्य ज्ञान हुन आवश्यक रहेको बताइन्।

यस्तै लुम्बिनी प्रदेशका पाल्पा केन्द्रमा २३, बुटवल केन्द्रमा ५२ र दाङ केन्द्रमा २० वटा निजी तथा सामुदायिक विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता भएको छ। प्रतियोगिताबाट प्रथम र द्वितीय भएका विद्यालयलाई यही पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने उपप्राचार्य श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे