LISTEN LIVE RADIO

आँखाको नानी गुमाएका बिरामीहरूको उपचार निशुल्क गर्ने कार्यक्रम ल्याएका छाै : मन्त्री खनाल



आँखाको नानी गुमाएका बिरामीहरूको उपचार निशुल्क गर्ने कार्यक्रम ल्याएका छाै : मन्त्री खनाल
भालुवाङ २ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले शरीरका महत्त्वपूर्ण अंग मध्ये आँखा शरीरको अझ महत्त्वपूर्ण अंग भएकोले स्वास्थ्य मन्त्रालयले आँखाको नानी गुमाएका अर्थात कर्नियाको अप्रेसन गर्ने बिरामीहरूलाई यस आर्थिक वर्ष देखि निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताएका छन् ।
साथै सेवा गर्ने अस्पतालहरू सँग सम्झौता गरेर अप्रेसन पछि लाग्ने सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने गरि कार्यक्रम ल्याएको बताए । मन्त्री खनालले त्यस्ता बिरामीहरूलाई स्वास्थ्य बिमा सँग जोड्ने र त्यसको शुल्क पनि स्वास्थ्य मन्त्रालयले व्यहोर्ने गरि कार्यक्रम ल्याउन लागेको बताएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा रहेको तिलगंगा आँखा सर्जिकल उपचार केन्द्रमा साेमबार देखि सुरू भएको दुई दिने निशुल्क आँखा जाँच तथा मोतिबिन्दु शिल्यक्रिया शिविरको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले महिला स्वास्थ्य स्वमसेविकाहरू घर घर तथा गाउँ गाउँमा गएर जनचेतना तथा सेवा पुर्‍याए पनि राज्यबाट उनीहरूले पाउने सेवा सुविधा अत्यन्त न्यून रहेकोले यस पटक स्वास्थ्य मन्त्रालयले ६० वर्ष पूरा गरि रिटायर हुने बेला सम्मान स्वरूप प्रमाणपत्र र नगद ५० हजार दिएर प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । त्यस्तै मन्त्री खनालले नसर्ने रोगहरूका विषयमा जनचेतना फैलाउने तथा समयमा डाक्टर कहाँ गई समयमै उपचार गराउने विषयमा कार्यक्रम अगाडि सारेको बताएका छन् ।  त्यस्तै आत्माहत्या तथा मानसिक रोगीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ र रोग लाग्नु पुर्व कसरी चेकजाँच गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय अगाडि बढेको बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालकाे प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हाे ।
दाङको राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका, राजपुर गाउँपालिका,बाँकेको राप्ती सोनारी गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सुरू गरिएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका डाक्टर बिक्रम श्रेष्ठ ,डाक्टर बिडी चाैरासिया लगायतको टिमले शल्यक्रिया गर्ने बताइएको छ। तिलगंगा आँखा सर्जिकल उपचार केन्द्र सिसहनियाँले यस अघि दाङको राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका, राजपुर गाउँपालिका,बाँकेको राप्ती सोनारी गाउँपालिकाका विभिन्न स्थानहरुमा ३ हजार ४१ जनाको आँखा चेक जाँच गरेको थियो । साे क्रममा ४ सय १९ जना मोतिबिन्दुकाे शिल्यकृया गर्नु पर्ने बिरामीहरु फेला परेका तिलगंगा आँखा सर्जिकल उपचार केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बिसीले जानकारी दिएका छन् । उपचार केन्द्र २ सय ३७ जना आँखाका बिरामीहरुलाई १५ प्रतिशत छुटमा चस्मा प्रदान गरेको छ भने विभिन्न विद्यालयका ५० जना विद्यार्थीहरुलाई नि:शुल्क रुपमा चस्मा वितरण गरेको इन्चार्ज बिसीले जानकारी दिए । शिविर पुस ३ गते सम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे