LISTEN LIVE RADIO

मझनीगढमा गाउँघर क्लिनिक तथा रक्तचाप मापन केन्द्र खुल्याे, स्थानीयले गाउँमै पाउने भए स्वास्थ्य सेवा



मझनीगढमा गाउँघर क्लिनिक तथा रक्तचाप मापन केन्द्र खुल्याे, स्थानीयले गाउँमै पाउने भए स्वास्थ्य सेवा

भालुवाङ २१ साउन । दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य पालिकाकाे विभिन्न स्थानमा गाउँघर क्लिनिक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ।

आईतवार राप्ती गाउँपालिका वडा नं.४ मझनीगढमा साे क्लिनिकको उद्घाटन गरिएको छ। साे क्लिनिकको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ८५ वर्षीय लिले गिरीकाे रक्तचाप जाँच गरि उद्घाटन गरेका हुन् । अध्यक्ष विष्टले आफ्नाे शरीरकाे अवस्था बारेमा बुझ्न बेलाबेलामा स्वास्थ्य जाच गराउनु पर्ने बताए । “हामी बिरामी नभइकन स्वास्थ्य संस्था नै जादैनाै”,उनले भने -“जब बिरामी पर्छाै त्यतिबेला राेग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।” कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले स्वास्थ्य संस्थाबाट टाढा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाकाे पहुँच पुर्याउनकाे लागि क्लिनिक सञ्चालन गरिएको बताउँदै नियमितरूपमा स्वास्थ्य परिक्षण गराउन कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले समयमै राेगकाे पहिचान भयो भने बेलैमा बिरामीको उपचार हुनुकाे साथै पैसा र समय दुवैको बचत हुने समेत बताए । साे गाउँघर क्लिनिकमा रक्तचाप मापन, गर्भवती, सुत्केरी जाँच सेवा, दुई वर्ष सम्मका बालबच्चाहरुकाे ताैल, परिवार नियाेजन, प्राथमिक उपचार सेवा प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए। हाल पालिका भरि १८ वटा गाउँघर क्लिनिक स्थापना भई सञ्चालन आएको छ। क्लिनिक प्रत्येक महिनाकाे २१ गते सञ्चालन हुने जनाइएको छ। अहिले पालिका भरि ४ स्वास्थ्य इकाई, ४ आधारभूत स्वास्थ्य केन्द्रबाट नियमित रुपमा स्वास्थ्य चेकजाँच भइरहेकाे छ भने भालुवाङ र सिसहनियाँमा रहेको २ वटा स्वास्थ्य चाैकी मार्फत २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान भइरहेकाे छ।

वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, स्वास्थ्यकर्मी पदम पाैडेल लगायतका वक्ताहरुले गाउँघर क्लिनिककाे आवश्यकता र त्यसबाट प्रदान गरिने सेवाहरुकाे बारेमा सहभागीहरुलाई प्रस्ट पारे।

कार्यक्रममा वडाका जनप्रतिनिधि ,टाेल विकास संस्थाका अध्यक्ष ,महिला स्वयंसेवकका,आमा समूहका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयवासीहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियाे भने स्वास्थ्यकर्मी चेतन पाेख्रेल र जानका पाैडेले १०० भन्दा बढी कार्यक्रममा सहभागी व्यक्तिहरुकाे रक्तचाप जाँच गर्नु भएको थियो । यसै बिच पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण रावतले वडा नम्बर ४ मा रहेको स्वास्थ्य इकाई र वडा नम्बर ८ मा रहेको गाउँघर किल्निककाे स्थलगत अवलोकन समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे