जुरौनीका महिला दिदीबहिनीहरु आज भोली व्यवसायिक दुनाटपरी उत्पादनमा बेस्त बन्दै



जुरौनीका महिला दिदीबहिनीहरु आज भोली व्यवसायिक दुनाटपरी उत्पादनमा बेस्त बन्दै

भालुवाङ २ जेष्ठ । दाङ—देउखुरीको गढवा गाउँपालिका वार्ड नम्बर—१, की सुष्मा केसीलाई आजभोली कामले भ्याईनभई छ । कुनै समय भान्साको काम सकाएर दिउँसो फुर्सदमा बस्ने सुष्मालाई अहिले भने कामले फुर्सद छैन । उनी जस्तै सोही ठाउँकी सन्ध्या केसी पनि दुनाटपरी उत्पादनमा लागेपछि निकै बिजी भएकी छिन् ।

सुष्मा र सन्ध्या प्राय दिउँसो मोबाइल चलाएर खाली बस्नु बस्थिन् । की त फुर्सद भयो भने गाउँका दिदीबहिनीहरु जम्मा भएर कुरा गरेर बस्ने गरेको अनुभुव सुनाउँछन् । तर दाङ—देउखुरीको गढवा गाउँपालिकाले जुरौनी गाउँका २० जना महिला दिदीबहिनीहरुलाई तालिम दिएर गाउँ मै दुनाटपरी उत्पादन गर्न लगाएका पछि उहाँहरु आजभोली बिजी हुन थालेका हुन् ।

उनीहरु जस्तै जुरौनी गाउँका महिला दिदीबहिनीहरु मिलेर गाउँमै दुनाटपरी उद्योग समेत सञ्चालनमा ल्याएका छन् । गाउँमै दुनाटपरी उद्योग सञ्चालनमा आए संगै उनीहरु आजभोली दिउँसो काममा बिजी हुन थालेका हुन् । उनीहरु यसअघि सुष्मा र सन्ध्याले जस्तै दिउँसो की मोबाइल चलाएर बस्ने की दिदीबहिनी जम्मा भएर कुरा गरेर दिन बिताउने गरेको बताउँछन् । तर गाउँमा दुनाटपरी उद्योग सञ्चालनमा आएपछि आफूहरु बिजी भएको बताउँछन् ।

उनीहरु जस्तै जुरानी गाउँमा अन्य महिला दिदीबहिनीहरु समेत दिउँसो काममा बिजी हुन थालेका छन् । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको दुनापटरी उद्योगमा काम गर्दा जुरौनीका महिला दिदीबहिनीहरु निकै उत्साहित समेत बनेका छन् । कुनै समय सालको पातलाई सोतर, मलको रुपमा प्रयोग गर्ने महिला दिदीबहिनीहरु अहिले त्यही सालको पातलाई दुनाटपरी बनाउने काम गर्दा आफू दंग परेको जुरौनीकी फूर्की कुमाल बताउँछिन् । बिगतमा घरयासी प्रयोगका लागि मात्र दुनाटपरी बनाउने गरेको अनुभव सुनाउँदै फूर्कीले महिला दिदीबहिनीहरुले व्यवसायिक रुपमा दुनाटपरी बनाउने बिषयले निकै उत्साहित भएको बताउँछिन् ।

त्यस्तै जुरौनीकी बिमली कुमाल पनि गाउँमै दुनाटपरी बनाउने कामले निकै उत्साहित बनाएको बताउँछिन् । बिगतमा त्यही सालको पात सोतर र मलको रुपमा प्रयोग गरिन्थ्यो तर आजभोली त्यही सालको पातले व्यवसायिक दुनाटपरी उद्योग सञ्चालन गर्ने बिषय आफ्नो लागि कल्पना भन्दा बाहिरको बिषय भएको बताइन् । उनले अहिलेको आधुनिक युगमा पनि दुनाटपरी बजारमा बिक्री हुने कल्पना समेत नगरेको बताइन् ।

गढवा गाउँपालिकाको लघुउद्यम शाखा मार्फत यस आर्थिक बर्ष २०८०/०८१ को कार्यक्रम अन्र्तगत यस बर्ष गढवा गाउँपालिका वार्ड नम्बर १, लाई कार्यक्षेत्र बनाई जुरौनीका २० जना महिला दिदीबहिनीहरुलाई दुनाटपरी उत्पादनको तालिम दिएर उत्पादन तर्फ लगाईएको गाउँपालिकाकी उद्यम विकास सहर्जकर्ता मिना चौधरीले बताइन् ।

पहिले दुनाटपरी उत्पादनका लागि खासै चासो नदेखाएको बताउँदै सहर्जकर्ता चौधरीले दिउँसो त्यति कै खाली बस्नु हुन्थ्यो अहिले तालिम संगै उहाँहरु उत्पादनमा लाग्दा निकै उत्साहित देखिनु भएको बताइन् । उनका अनुसार लघुउद्यम विकास कार्यक्रम संघ सरकारको कार्यक्रम रहेकोले जुन वडा छनोटमा पर्छ त्यही वडामा पुरै बजेट खर्च गर्नुपर्ने प्राबधान रहेकोले यस बर्ष देखि लगातार तीन बर्ष सम्म १ नम्बर वडामा नै विभिन्न तालिम, प्रबिधी र सिप मार्फत आयआर्जनमा जोड्ने मुख्य लक्ष्य रहेको समेत सहर्जकर्ता चौधरीले बताइन् ।

जुरौनी गाउँका फुसर्दमा रहेका महिला दिदीबहिनीहरुलाई व्यवसायिक रुपमा उत्पादन संग जोड्न तथा उद्यमी बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको गढवा गाउँपालिका—१, नम्बर वडाध्यक्ष बाबुराम अधिकारीले बताए । दुनाटपरी उद्योगले महिला दिदीबहिनीहरुलाई आयआर्जन संग समेत जोड्ने वडाध्यक्ष अधिकारीले बताए । विभिन्न चरण अन्र्तगत महिला दिदीबहिनीहरु पहिलो चरणमा दुनाटपरी उत्पादन गर्ने तरिका, बजारीकरण, समूहमा बसेर कसरी काम गर्ने लगायतका बिषयमा सिप सिकाएर दुनाटपरी उत्पादनमा लगाईएको वडाध्यक्ष अधिकारीले बताए ।

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै जुरौनी गाउँको दुनाटपरी उत्पादनलाई गतिलो उदाहरणका रुपमा लिन सकिन्छ । तसर्थ अब हरेक नागरिकहरुलाई सिप र उद्यम संग जोड्न सक्ने हो भने अधिकांश नेपालीहरु स्वदेश मै स्वरोजगार बन्नेमा दुई मत छैन ॥ तसर्थ राज्यका तीन तहका सरकारले यस्ता सिपमूलक कार्यक्रमहरु सञ्चालन तर्फ आवश्यक ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे