सिसहनियाँमा तिलगंगाले निशुल्क उपचार गरेर आँखाका बिरामीलाई खुसी बनायो



सिसहनियाँ २२ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा शल्यक्रिया आँखा केन्द्रले आँखाका बिरामीहरुलाई निशुल्क उपचार गरेर खुसी बनाएको छ । केहि दिन अघि वडा वडामा निशुल्क आँखा चेकजाँच गरेको आँखा केन्द्रले ४ दिन सम्म आफ्नै आँखा केन्द्रमा निशुल्क आँखाको अप्रेसन गरेर उज्यालो दिएपछि बिरामीहरु खुसी भएका हुन् ।

राप्ती गाउँपालिका वडा नं. ४ पिरखुट्टी निवासी ६७ वर्षीया कमला आचार्यको आँखाले धमिलो देख्न थाल्यो । उज्यालोमा पनि आँखाले साथ दिन छाडेपछि उनी उपचारको लागि सिसहनियाँ स्वास्थ्य चौकीमा पुगिन् । जहाँ आँखाको निःशुल्क उपचार भइरहेको थियो । उनको आँखामा मोतियाबिन्दुको समस्या भएकाले शल्यक्रिया समेत गर्नुप¥यो । राप्ती गाउँपालिकाले तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेपछि आँखाका बिरामीलाई उपचार लिन सहज भएको छ । ‘गाउँकै संस्थामा उपचार पाइयो । धेरै ठाउँ धाउनु परेन’– आचार्यले भनिन्– ‘आँखाको ज्योति फर्किएकोमा खुशी छु ।’

एक हप्तासम्म राप्ती गाउँपालिकामा आँखा उपचार शिविर चलेपछि दुई हजार ८० जना बिरामीले आँखा उपचार सेवा लिएका छन् । तीन दिनसम्म आँखा शल्यक्रिया शिविर चलेको थियो । जसमा दुई सय ३५ जना बिरामीको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए । ‘यो शिविरबाट आँखाका बिरामीहरुले निकै लाभ लिएका छन्– अध्यक्ष बिष्टले भने– ‘लुम्बिनी प्रदेशको राजधानीमा आँखा अस्पतालको रुपमा विकास गर्ने गरी अघि बढ्ने योजना छ ।

भविष्यमा पनि यहाँबाट आँखा सम्बन्धी सबैखाले उपचार सेवा पाइन्छ ।’ तिलगंगा आँखा अस्पताल काठमाडौंका नेत्र विशेषज्ञहरु होम गुरुङ, कृपा जोशी, बाह्य कार्यक्रम अधिकृत हरिबहादुर कार्की, कार्यक्रम अधिकृत नवीन चन्द्र सिंह राजवंशी, नेत्र अधिकृत किरणमैया थापा, नेत्रसहायक सुपेन्द्र ताम्राकार, धर्मराज यादवलगायतको टोली आँखा उपचारमा खटिएको थियो । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको सहयोगमा सिसहनियाँ स्वास्थ्य चौकी भित्र रहेको एक भवनबाट बिरामीहरुलाई सेवा दिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे