LISTEN LIVE RADIO

डाक्टर सहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल बन्द



डाक्टर सहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल बन्द

बाँके १२ बैशाख। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल एक साताका लागि बन्द गरिएको हो । अस्पतालले सूचना जारी गर्दै आकस्मिक बाहेकका सेवा आजदेखि वैशाख १८ गतेसम्म बन्द गरिएको जनाएको छ।

सूचनामा लेखिएको छ, ‘अस्पतालमा कार्यरत कर्मचारी एवम्‌ स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउन चाहन्छौँ। वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सी बाहेकका सेवा दिन सकिने छैन।’

कोरोनाको दोस्रो लहर शुरू भएसँगै बाँके कोरोनाको हटस्पट नै बनेको छ भने नेपालगन्ज सहरमा लकडाउन गरिएको छ। यस अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो। केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। बाँकेमा ८० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। १२ घण्टाको अवधिमा बाँकेमा ५ जनासम्मको कोरोनाबाट मृत्यु भएको छ।

बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमित राख्ने बेड अभाव भएको छ भने चिकित्सकको समेत अभाव देखिएको छ। अस्पतालले प्रदेश र केन्द्र सरकारसँग चिकित्सक र आवश्यक उपकरण पठाउन आग्रह गरेको छ । चिकित्सक र उपकरणको अभाव भएसँगै लुम्निबी प्रदेश सरकारले त्यसकालागि केन्द्र सरकारसँग सहयोग गर्ने आग्रह गरिसकेको छ । प्रधानमन्त्रीसँग कुरा गरेर सहयोग गर्न आग्रह गरिएको र प्रधानमन्त्रीले छिटो सहयोग उपलब्ध गराउने आश्वसन दिनुभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे