LISTEN LIVE RADIO

देउखुरीको कोइलाबासमा आँखा उपचार केन्द्र स्थापना



देउखुरीको कोइलाबासमा आँखा उपचार केन्द्र स्थापना

गढवा ११ बैशाख । देउखुरीको गढवा ८ कोइलाबासमा आँखा उपचार केन्द्रको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा सुरु भएको एक कार्यक्रमका बीच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आँखा अस्पतालको शिला अनाबरण गरी आँखा चेकजाँच गरेर उद्घाटन गरेका हुन् ।आँखा अस्पताल निर्माणका लागि नेपाल नेत्रज्योती संघ दाङ र लमही तथा बहादुरगंज आँखा उपचार सेवा केन्द्रको समन्वय र सहकार्य रहेको थियो ।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त गढवा गाउँपालिकाको २६ लाख लगानीमा आँखा अस्पताल भवन निर्माण गरिएको हो । गाउँपालिका र वडा कार्यालयले लमही तथा बहादुरगंज आँखा अस्पताललाई प्राप्त गराएको १० कठ्ठा जग्गामा अस्पताल भवन तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

गतबर्षको बैशाख महिनामा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्मा, इन्द्रजित थारु र गाउँपालिकाका अध्यक्ष सहजराम यादवद्धारा सो भवनको शिलान्यास गरिएको थियो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कोइलाबासको मुहार फेर्न र बजारलाई पुर्नस्थापित गर्न आँखा अस्पताल एक बलियो माध्यम बन्ने बताएका छन् ।

नेपाल लगायत भारत तर्फका नागरिकहरुलाई समेत यस अस्पतालले आकर्षण गर्ने र अस्पतालको बलियो आयश्रोत बन्ने उनले बताए । कार्यक्रममा नेत्र ज्योती संघ दाङका सभापति तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, नेपाल नेत्रज्योती संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह, नेत्रज्योती संघ दाङका सल्लाहकार उमाकान्त पन्त, रेश्मीराज कंगाली, दाङका उपसभापति रेशमबहादुर खड्का र नेपाली कांगे्रसका अब्दुल कुसुद सिद्दिकी लगायतले कोइलाबासमा आँखा अस्पताल निर्माण गर्न गढवा गाउँपालिकाले खेलेको भूमिका प्रति प्रशंसा ब्यक्त गरेका थिए ।

लमही आँखा अस्पतालका घनश्याम सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कपिलबस्तु आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे