तीन बर्षमा फेरिएको कोइलाबास



तीन बर्षमा फेरिएको कोइलाबास

गढवा ११ वैशाख । राणाकालिन समयमा नेपालकै दोश्रो स्थानमा चम्किएको कोइलाबास पूर्व–पश्चिम राजमार्ग बने संगै खण्डहरमा परिणत भएको थियो । राप्ती अञ्चलका करिब सबैजसो जिल्ला र छिमेकी जिल्लाहरुको नून थलो रहेको कोइलाबास मालसामान निकासी पैठारीको केन्द्र पनि थियो । कोइलाबास जाँदा बाउ बाजेहरुले घिउ, टिमुर, खुँदो, अदुवाको सुठो र अदुवा बोकेर लैजाने र बिक्री गरेर नून, मट्टितेल, कपडा, तथा आवश्यक सरसामानहरु लिएर आउने प्रचलन थियो ।

स–साना गल्ली सहितको ब्यस्त बजार कोइलाबासमा त्यत्ति बेला संगै गएका साथीहरु आपसमा हात समाएर नहिडेमा घरमै फर्केपछि भेट हुन्थ्यो भन्ने बुढापाकाहरुको वास्तविक भनाई अहिले कथन जस्तै मानिन्छ । स्थानीय तहको निर्वाचन पुर्व बिकासका लागि जत्ति पैसा गएपनि त्यहाँका अगुवाहरुले बाडेरै खाने गर्दथे, बिकासको अनुभूत कसैले गर्न नपाएको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताउँछन् । त्यत्तिबेला सडक थिएन । अनुगमन नियमन गर्न जाने निकायहरु प्नि खासै जादैनथे । गएपनि भारतको बाटो भएर जानु पर्दथ्यो–उनले भने । स्थानीय तहको निर्वाचन पश्चात् कोइलाबासमा बिकासले काँचुली फेर्दै छ–स्थानीय समाजसेवीहरुले बताए ।

लमही–कोइलाबास सडक निर्माण भएपछि कोइलाबासको बिकास फेरिदै गएको छ । यातायात सुचारु छ । आन्तरिक र बाहिरिय पर्यटकहरु आउने क्रम बढेको छ । आइतवारका दिन छिमेकी मुलुक भारतबाट प्रसस्तै मानिसहरु कोइलाबास घुम्न आउने गर्छन्–वडा अध्यक्ष सद्दाम सिद्दिकीले भने । बिकास निर्माणका कार्यहरुले गति लिइरहेका छन्–स्थानीय जयबहादुर बुढाले भने । स्थानीय तहको निर्वाचन पछि कोइलाबासमा भ्यूटावर बनेको छ भने आँखा अस्पतालको भवन तयार भै उद्घाटन भएको छ । मुसी नाकामा खानेपानीको पुर्ण ब्यवस्थापन भएको छ । टुकी वालेरै दिन कटाउन बाध्य मुसीनाकाका नागरिकहरु बिजुली बत्ती पुगेपछि निकै राहात महसुस गरेका छन् ।

यत्ति मात्रै हैन मुसीनाका र खबरीनाकामा आम्दा नेपालले गाउँघर स्वास्थ्य क्लिनीक भवन बनाइदिएको छ भने स्थानीय सरकारले कोइलाबास देखि मुसी जोड्ने र मुसी धारदेखि गाउँ जोड्ने सडकको ट्रयाक खोली सकेको छ । यसैगरी मुसीमा प्रहरी चौकी भवन बन्दै छ भने शसस्त्र प्रहरी सिमा सुरक्षावलको बिओपि स्थापना भै भवन समेत निर्माणाधिन अवस्थामा छ । पहिलेको तुलनामा तिन बर्षमा धेरै बिकास देख्न पाएका छौं–स्थानीय समाजसेवी कर्णबहादुर घर्तीले भने ।
कोइलाबास देखि खबरी नाका जोड्ने सडक तयार गरि ठाउँ–ठाउँमा कल्भर्ट बनाइएको छ भने खबरी नाकामा बिद्युत्त बिस्तारको काम जोडतोडले चलिरहेको छ ।

सोही स्थानमा गाउँघर क्लिनिक भवन तयार भै सेवा सुचारु भएको छ भने मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमको बजेटबाट खबरी नाकामा पक्की कुलो निर्माण भएको छ । त्यस्तै सो स्थानमा पनि शसस्त्र सिमा सुरक्षा बलको स्थापना भै बिओपिडि भवन बन्दै छ भने कोइलाबासमा गढवा उद्योग बाणिज्य संघले सम्पर्क कार्यालय बनाउन बाउण्ड्री शिलान्यास समेत गरि सकेको छ । यसैगरी कोइलाबासको वडा कार्यालय देखि डाडाँगाउँ जोडुने झोलुंगे पुल निर्माण कार्य सुरु भएको छ भने हावाबाट बिजुली निकाल्ने परिक्षण सफल भै सकेको गाउँपालिकाले जनाएको छ ।

कोइलाबासका भित्री सडकहरु प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट स्तरिकरण गरी कालोपत्रे गर्न सुरु भएको छ । डाँडागाउँमा पक्किनाली सहितको चौडा बाटो बनिरहेको छ भने चेलीबेटी बेचबिखन रोकथामका लागी शान्ती पुर्नस्थापना गृहको कार्यालय खोली बर्डरगेटमा डेस्क राखिएको छ । कोइलाबास खोलामा चढ्न र झर्न फलामको रेलीङ सहितको भरेङ बनाइएको छ भने स्वास्थ्य चौकीको आवास भवन तयार भई संचालनमा आएको छ । वडा कार्यालयको बाउण्ड्री, बिद्यालय भवन निर्माण तथा रंगरोगन, रामजानकी मन्दिरको मर्मत र चारखम्बामा नेपाल टेलीकमको बिटीएस टावर निर्माण भएको र वडा कार्यालयको पहलमा ९० घरधुरीलाई जस्तापाता वितरण गरिएको वडा अध्यक्ष सिद्दिकीले बताए ।

बहुप्रतिक्षीत लमही कोइलाबास सडक त बन्यो तर पहिलेको जस्तो कोइलाबासले पुर्नजिवन पाउँन मुस्कील हुने स्थानीय ७७ बर्षिय अनिसुल रहमानले भने । कोइलाबासको बचपन र जवानी संझीदा सपना जस्तै लाग्छ–उनले भने । कोइलाबासको थप बिकासका लागि बाहिर गएका स्थानीयहरु ब्यवसायमा स्थापित हुनुपनर्छ र भारतिय भन्सार कष्टम नजिक ल्याउन द्धिदेशीय पहल हुनुपर्छ र बैंक तथा सटही काउण्टर स्थापना हुनुपर्छ–रहमानले भने । तिन बर्षमा कोइलाबास निकै फेरिएको छ तर लमही देखि ३३ किलोमिटरको दुरीमा रहेको कोइलाबासको भाडा सडक कालोपत्रे भएपनि १ सय ७० तिर्न बाध्य छौं जवकी लमहीबाट घोराही पुग्न पनि ५५ रुपैयाँ मात्र लाग्छ । यस बिषयमा यातायात ब्यवसायी समितिको तत्काल ध्यान जानु जरुरी छ–स्थानीय बुद्धिजिवी जयबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे