LISTEN LIVE RADIO

लमही महोत्सवमा आज पनि हजारौं दर्शकको उपस्थिति : ज्योती मगरको प्रस्तुतीमा दर्शकको हुटिङ



लमही महोत्सवमा आज पनि हजारौं दर्शकको उपस्थिति : ज्योती मगरको प्रस्तुतीमा दर्शकको हुटिङ

लमही १६ माघ । लमही महोत्सवमा दिन प्रतिदिन राैनकता थपिन थालेको छ ।

मंगलबार महोत्सवको बाह्राै दिनमा पनि हजारौं दर्शकले महोत्सव अवलोकन गरेको लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले जानकारी दिएका छन् । देउखुरीका विभिन्न ठाउँबाट दर्शकको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव स्थल दर्शकले भरिभराउ देखिन्थ्यो ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा मंगलबार चर्चित गायिका ज्योती मगरले आधा दर्जन बढी गीत गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएकी छिन् । मगरले चोली भित्र जवानी, उहि मुलाको सिन्की उहि मुलाको चना, चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउँदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो । उत्ताउलो पारामा देखिएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्छ ।

त्यस्तै गायक चोलेन्द्र पाैडेल, गायिका पारू गुरूङ, ज्ञानेन्द्र स्वर्णकार, गायिका तथा उद्घोषिका रूपा घर्तीले विभिन्न गीत गाएर दर्शकहरूको मन जित्न सफल भएका थिए । उनीहरूले गाएका सवै गीतमा दर्शकहरुले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

त्यस्तै बाल कलाकार अनुष्का आचार्य, गायक, मोडेल तथा उद्घोषक अनुप बुढाले पनि विभिन्न साँगेतिक प्रस्तुति मार्फत दर्शकहरूलाई नचाएका थिए । भने पिडिएच डान्स स्टुडियो र स्थानीय कलाकारहरूले पनि दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे