LISTEN LIVE RADIO

दुई करोड अनुदान बाँड्दै महिला सामुदायिक लघुवित्त



दुई करोड अनुदान बाँड्दै महिला सामुदायिक लघुवित्त

देउखुरी टुडेकर्मी, दाङ २५ असोज ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रवद्र्धनका लागि अनुदान वितरण गरेको छ ।

घोराही र नारायणपुर शाखाअन्तर्गतका सदस्यहरुलाई सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी व्यवसायका लागि आवश्यक सामग्री तथा नगद अनुदान बितरण गरेको छ । संस्थामा आवद्ध ४० जना सदस्यहरुलाई सामुहिक रुपमा एवं व्यक्तिगत रुपमा व्यवसाय प्रवद्र्धनका लागि अनुदान रकम प्रदान गरिएको हो ।

कृषि एवं पशुपालन, साना उद्यमहरुका लागि आवश्यक सामग्रीहरु एवं नगद गरी ८ लाख ९९ हजारको अनुदान रकम बितरण गरिएको थियो । जसमा ४ वडा मिनी टेलर (हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे ट्याङ्की र मल्पिङ, २ वटा फ्रिज, एक थान सिलाई मेसिन, एक थान मोटर र एक थान ठेला एवं सदस्यहरुको आवश्यकता अनुसार नगद अनुदान सहयोग प्रदान गरिएको छ ।

कोरोना भाइरस संक्रमणको समयमा साना व्यवसायीहरु मारमा परेकाले व्यवसाय प्रवद्र्धनका लागि अनुदान वितरण सुरु गरिएको संस्थाले जानकारी दिएको छ । उद्यम विकास कार्यक्रमद्वारा प्रवद्र्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्वारा व्यवसाय गर्नका लागि सदस्यहरुलाई अनुदान बितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिइन् ।

संस्थामा रहेको ग्राहक संरक्षण कोषमा हालसम्म ७ करोड रुपिया बचत भएको र त्यसमध्येबाट हरेक वर्ष सदस्यहरुलाई व्यवसाय प्रवद्र्धनका लागि अनुदान रकम बितरण गर्ने गरेको उनले बताइन् । ‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्ये महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको पहिलो होला’, योगीले भनिन्, ‘संस्थाका लागि भन्दा पनि सदस्यहरुका लागि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ हामीले ग्राहक संरक्षण कोषको स्थापना गरेका छौं, जसबाट हामीले पहिलो प्रयास गरेका छौं ।’

साथै उनले यस आर्थिक वर्षमा ६ वटा जिल्लामा सदस्यहरुलाई ग्राहक संरक्षण कोषमार्फत् २ करोड रुपिया बितरण गर्ने योजना रहेको पनि जानकारी दिए । युवा तथा महिलाहरुको व्यवसायीक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पर्ने वित्तीय सेवा, प्राविधिक सेवा, तालिमको व्यवस्था गरिरहेको जानकारी दिइन् ।

यसका साथै कृषि, पशुपालन, साना उत्पादनमुलक उद्योग, सीपमुलक तालिम प्रदान गरी साना तथा मझौला उद्यमी निर्माण गरी सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनीकरणमा टेवा पुर्याएको उनले जानकारी दिइन् । संस्थाले ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरुलाई पनि उद्यमी बनाउनुपर्छ भन्ने उद्धेश्य हाल आएर पुरा हँुदै गएको बताइन् ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष गीता योगी गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउनका लागि महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उनले कृषि र पशुपालनकामा पछिल्लो समयमा महिला तथा बालबालिकाहरु आकर्षित रहेकाले उनीहरुको व्यवसायलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाई छ । जुन काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थागत रुपमा गरिरहेको भन्दै पंशसा व्यक्त गरेका थिए । परमपरागत कृषि र पशुपालन व्यवसायलाई आधुनिकीरकण गर्नका लागि प्रविधीको प्रयोग गरेर उत्पादन बढाउन अनुरोध गरे ।
घोराही उपमहानगरपालिका वडानम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले स्थानीय तहले गर्नुपर्ने कृषि र पशुपालन व्यवसाय प्रवद्र्धनको काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले गरेको बताए । संस्थाको ग्राहक संरक्षण कोषबाट सदस्यहरुलाई अनुदानवाफत् रकम वितरण गर्नु नेपालकै उदाहरणीय कार्य भएको उनको भनाई थियो । कोभिडको कारण समस्यामा रहेका साना व्यवसायीहरुलाई अनुदानले व्यवसाय प्रवद्र्धन गर्न सहज हुने बताए ।

घोराही उपमहानगरपालिका वडानम्वर ११ का अध्यक्ष कुलबहादुर लामिछानेले लघुवित्तको माध्यमबाट महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बनेको बताए ।सदस्यहरुलाई प्रदान गरिने यस्ता अनुदान कार्यक्रमहरुले सदस्यहरुको मनोबल उच्च राख्ने उनको भनाई छ । घोराही उपमहनगरपालिका वडानम्वर १० का सदस्य केशरी बिकले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि लघुवित्त संस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा वर्षाको कारण घर भत्किएर पीडित घोराही उपमहानगरपालिका वडानम्वर १८ काभ्रेखोलाका थमा रोकालाई ग्राहक संरक्षण कोषबाट नगद ५ हजार रुपियाँ सहयोग गरिएको थियो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म शान्तिनगर, श्रीगाउँ, हापुरे, लमही, गढवा, भालुवाङ, राजपुरमा सदस्यहरुलाई २० लाख अनुदान रकम वितरण गरिसकेको छ ।

कार्यक्रमको सहजीकरण महिला सामुदयिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रबन्धक यमला गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे