LISTEN LIVE RADIO

दाङको राप्तीमा जग्गा नापी गर्ने बहानामा जनप्रतिनिधि र कर्मचारीले असुले रकम (बिबरण सहित)



दाङको राप्तीमा जग्गा नापी गर्ने बहानामा जनप्रतिनिधि र कर्मचारीले असुले रकम (बिबरण सहित)

भालुवाङ १० बैशाख । दाङ—देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जग्गा नाप्ने बहानामा स्थानीयबासी संग अबैध तरिकाले हजारौँ रकम असुल गरेको तथ्य फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ३ को खुरुरियामा गाउँपालिकाबाट खटिएका नापीका कर्मचारी र जनप्रतिनिधिहरुले ऐलानी जग्गा नाप्दा स्थानीयबासीबाट ठुला रकम असुल गरेको तथ्य बाहिर आएको हो ।

निस्सा प्राप्त गर्न गाउँपालिकामा फारम भरेका खुरुरियाका स्थानीयबासीबाट ऐलानी जग्गा नाप्न खटिएका नापीका कर्मचारीहरुले रकम असुल गरेको स्थानीयबासीहरुले बताएका छन् । खुरुरियाका करिब १८ जना संग करिब ५२ हजार बढी रकम असुल गरेको तथ्य खुलेको हो । रकम असुल गरेको तथ्य बाहिर आएपछि नापी टोली गाउँमै पुगी असुल गरेको रकम समेत फिर्ता गरेको छ । रकम असुल गरेको बिषयमा देउखुरी टुडे डटकमका अध्यक्ष/प्रधानसम्पादक सन्तोषकुमार गुप्ता, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, नेकपा एमालेका अग्रज नेता धर्मराज अधिकारी र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिप्रसाद भुसाल सहितको टोली गाउँमा पुगी रिपोटिङ्ग गरेर फर्केको केही घण्टामा कर्मचारीको टोली गाउँमै पुगी रकम फिर्ता गरेको छ ।

दाङ जिल्ला समन्वय समितीकी सदस्य द्रोपती चौधरी, राप्ती गाउँपालिका—३, का वडा सदस्य सान्तप्रसाद चौधरी, गाउँपालिकाकी सर्वेक्षक बबिता जिसी, अमिन हिक्मत साउथ, फिल्ड साहायक सार्की पुजाली सहितको टोली गाउँमा पुगी उक्त रकम फिर्ता गरेको छ । अबैध रुपमा रकम असुल गरेको तथ्य बाहिर आएपछि आज सोमबार समन्वय समितीकी सदस्य द्रोपती चौधरीको घरबाट उक्त रकम फिर्ता गरिएको छ । पिडितहरुलाई जनप्रतिनिधिको निवासमा बोलाई कागजमा हस्ताक्षर समेत गराएर उक्त रकम फिर्ता गरिएको छ । स्थानीयबासीका नापी टोलीले ५२ हजार बढी रकम असुल गरेको आरोप लगाएपनि नापी टोलीले ४२ हजार ५ सय रकम मात्र लिएको र त्यही रकम फिर्ता गरिएको अमिन हिक्मत साउथले जानकारी दिए ।

खुरुरियाका गाउँ अगुवा दसानु चौधरीले एक जना संग ११ हजार देखि १५ सयका दरले समेत रकम असुल गरेको बताए । खुरुरिया गाउँका कान्तुप्रसाद चौधरी संग ११ हजार, जुगमाया चौधरी संग ९ हजार र अन्य १५/१६ जना संग जनही १ हजार ५ सयका दरले रकम गाउँपालिकाबाट नाप्न आउनु भएका हिकम्त साउथ बुझाएको गाउँका अघरिया दसानुले बताए । गत चैत २५ गते गाउँपालिकाबाट हाम्रो गाउँमा जग्गा नाप्न आउनु भएको थियो । त्यति बेला केहीले कर्मचारीहरुलाई पैसा बुझाउनु भएको रहेछ, मैलेपछि थाहा पाए गाउँ अघरिया चौधरीले भने ।

गाउँमा जग्गा नाप्न आउनु भएका नापी टोलीलाई पैसा नदिए जग्गा ननाप्ने भएवपछि आफूले बाध्यता बस रकम बुझाएको खुरुरियाका पिडित कान्तुप्रसाद चौधरी र बिरबहादुर चौधरीले भने । हामीले हाम्रो ऐलानी जग्गाको निस्सा पाउनका लागि गाउँपालिकामा फारम भरेका थियौँ, त्यही जग्गा नाप्न गाउँपालिकाबाट हिक्मत साउथ र बबिता जिसी सहितको टोली हाम्रो गाउँमा आएको थियो । हामीले हाम्रो जग्गा पनि नापी दिनु पर्यो भनेपछि उहाँहरुले पैसा माग्नु भयो । यदि पैसा नदिए जग्गा ननाप्ने भनेपछि हामीले हिक्मतलाई उक्त रकम बुझाएको बताए ।

गत चैत २५ गते उक्त गाउँमा जग्गा नाप्न राप्ती गाउँपालिका सर्वेक्षक बबिता जिसीको नेतृत्वमा अमिन हिक्मत साउथ, फिल्ड साहयक सार्की पुजाली जानु भएको थियो भने समन्वय समितीकी सदस्य द्रोपती चौधरी र ३ नम्बर वडा सदस्य सन्तप्रसाद चौधरीको रोहबरमा उक्त ऐलानी जग्गाहरु नाप्ने काम गरिएको थियो ।

यता गाउँले जनप्रतिनिधि र नापीका कर्मचारीले करिब ५२ हजार बढी रकम उठाएको बताएका छन् । जस मध्ये अमिन हिक्मत साउथ सहितका कर्मचारीले २४ हजार लिएको र समन्वय समितीकी सदस्य द्रोपती चौधरी र वडा सदस्य सन्तप्रसाद चौधरीले २८ हजार रकम लिएको समेत आरोप लगाएका छन् । कान्तु र जुगमायाले हिक्मतको हातमा उक्त रकम दिएको बताएका छन् भने बाँकीले जनप्रतिनिधिलाई १ हजार ५ सयका दरले रकम बुझाएको आरोप लगाएका छन् ।

यस बिषयमा राप्ती गाउँपालिकाका अमिन हिक्मत साउथलाई बुझ्दा कार्यालय समय भन्दा पछि पुर्जा वाला जग्गा नापेर पैसा लिएको बताउनु भएको छ । उहाँले मैले कुनै ऐलानी जग्गा अनि त्यो कार्यालय समय भित्र नापेर लिएको रकम लिएको बताए । लिएको रकम किन फिर्ता गरेको भन्ने बिषयमा अमिन साउथले स्थानीयबासीको आग्रह र सञ्चारमाध्यममा समाचार आएपछि आलोचना सहनु भन्दा रकम फिर्ता गर्नु ठिक भनेर रकम फिर्ता गरेको स्वीकार गरेका छन् ।

यता जनप्रतिनिधिले समेत रकम लिएको बिषयमा जिल्ला समन्वय समितीकी सदस्य द्रोपति चौधरी र राप्ती गाउँपालिका—३, नम्बर वडा सदस्य सन्तप्रसाद चौधरीले स्थानीयबासीबाट कुनै प्रकारको रकम नलिएको बताएका छन् । उनीहरुले हामीले कोही कसै संग कुनै प्रकारको रकम समेत लिएका छैनौँ र हामीलाई केही थाहा पनि नभएको बताए । साथै उनीहरुले तत्काल छानबिन समिती गठन गरेर छानबिन गर्न समेत माग गरेका छन् ।

यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले यदि गैरकानुनी तरिकाले रकम लिएको पुष्टि भए कानुन अनुसार कार्वाही गर्ने बताइन् । उनले जनप्रतिनिधि वा कर्मचारी जो भएपनि कानुनी दायरामा ल्याएर कार्वाही गर्ने बताइन् । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले आरोप पुष्टि भए कानुन अनुसार निलम्बन सम्म गर्ने बताए । उनले अब यस बिषयमा गम्भीर रुपमा अध्ययन गरी थप निणर्य लिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे