भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि नेपालमा असर पर्ने



भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि नेपालमा असर पर्ने

काठमाण्डाै १२ चैत्र । भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । भारतको यो निर्णयले नेपालमा पनि असर पर्ने भएको छ ।

नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ ।  भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । ‘खोप खरिद गरिसकेकाले नपठाउनुको विकल्प हुँदैन, कति समयपछि पठाउँछ भन्ने मात्र हो ’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले भने ।

भारतीय खोप उत्पादक कम्पनीले खोपको पैसा लिइसकेकाले उसले खोप पठाउनै पर्ने उनले बताए । यसबीचमा कम्पनीसँग भएको छलफलमा नेपाललाई प्राथमिकतामा राखेर खोप दिने प्रतिबद्धता आएकाले ढिलो गरी भए पनि खोप आउने उनले बताए । भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ ।

नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो । यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो । यसपछि भारतसँग सरकारले २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोजमात्रै भित्रिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो ।

दोस्रो डोजको खोपबारे पनि अन्योल

कोरोना विरुद्धको पहिलो डोज लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भनिए पनि अन्योल भएको छ । भारतसँगै कोभ्याक्स सुविधामार्फत आउने बाँकी खोप कहिलेसम्म आउँछ भन्ने निश्चित भइनसकेकाले यसबारे स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ ।  विश्व स्वास्थ्य संगठनले पहिलो मात्राले ७० प्रतिशत काम गर्ने भएकाले दोस्रो मात्रा लगाए पनि असुरक्षित नहुने बताएपछि दोस्रो मात्रा दिने या नदिने भन्नेबारे मन्त्रालयले छलफल थालेको हो । नेपालमा अहिले सात लाख डोज खोप मौज्दातमा छ ।

मौज्दातमा रहेको यही खोप पहिलो डोज लगाएकाहरुलाई दिने भनिएको थियो । तर अब बाँकी रहेको यो खोप पहिले लगाएकालाई दिने कि नयाँलाई दिने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।  ‘दोस्रो मात्रा नपाए पनि असुरक्षित भइन्छ भन्ने होइन, विश्व स्वास्थ्य संगठनले पनि एक मात्रा मात्रै लगाए पनि ७० प्रतिशत सुरक्षित रहने बताइसकेको छ’ स्रोतले भन्यो-‘दोस्रो मात्रा दिने की नदिने भन्नेबारे छलफलमा छौं । केही दिनमा निर्णय हुनेछ ।’

नेपालमा अहिलेसम्म १६ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो भने दोस्रो अभियानमा ६५ वर्षभन्दा माथिकालाई खोप दिइएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षमाथिकालाई खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे