विद्यालय भवन र पुस्तकालयको खर्च उठाउन देबेन्द्र बस्न्यातको एकल साइकल यात्रा देउखुरीमा



विद्यालय भवन र पुस्तकालयको खर्च उठाउन देबेन्द्र बस्न्यातको एकल साइकल यात्रा देउखुरीमा

सन्तोषकुमार गुप्ता, भालुवाङ ६ चैत ।

दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्न दोलखादेखि डडेलधुरासम्म एकल साइकल यात्रा शुरु गरेका देवेन्द्र बस्न्यातले बिहिबार दाङको देउखुरी आइपुगेका छन् । भुकम्पले क्षतिग्रस्त दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकलयात्री बस्न्यातले दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर सम्म शुरु गरेको एकल साइकल यात्रा देउखुरी आइपुगेको हो ।

एक दशकभन्दा लामो समयदेखि साइकल यात्रामार्फत पर्यटन प्रवर्धन गर्दै आएका बस्न्यातले पहिलो पटक विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि एक साइकल यात्रा शुरु गरेका हुन् । आफू पर्यटन प्रवर्धनका लागि मुलुकका विभिन्न भागमा साइकल कुदाएर गए पनि पहिलो पटक शिक्षाका लागि साइकलयात्रा गर्न लागेको जानकारी दिए । थोरै भए पनि आर्थिक सहायता संकलन हुनेमा विश्वस्त रहेका बस्न्यातले आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको बताए ।

५० वर्ष पुगेका बस्नेतले यस्ता अभियानहरू विदेशमा धेरै हुने गरे पनि नेपालमा भने बिरलै हुन लागेको र आफू त्यसको साझेदार बन्न भएकोमा खुसी व्यक्त गरे । आफ्नो अभियान ‘एक किलोमिटर एक रुपैयाँ’ रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थालाई स्वः स्फुर्त सहयोग गरेर विद्यालय भवन र पुस्तकालय निर्माणमा सहयोग पु¥याउन अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेले मोबाइल एप वा हेल्प नेपाल नेटवर्कको बैंक खातामा रकम सहयोग गर्न सक्ने बताइएको छ । मोबाइल एप खल्तीको बजार ट्याबमा गएर पेडल फर एजुकेशन क्लिक गरेर रकम दिन सकिने छ । त्यसैगरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा जम्मा गर्न सकिने साइकलयात्री बस्न्यातले बताए ।

उनले यो अभियानका क्रममा साइकल यात्री बस्नेतले कुनै रकम नलिएको र साइकलको मर्मत, खाना बस्ने लगायतका खर्च स्वयंले व्यहोर्ने पनि जानकारी दिए । सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहनुभएका बस्न्यात विश्व साइकलयात्री पुश्कर साहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबर्धन लगायतका काम गर्दै आएका छन् ।

दोलखाबाट धुलिखेलहुँदै काठमाडौं, हेटौडा, चितवन, वुटवल, लालमटिया, कोहलपुर, चिसापानी, धनगढी, डडेलधुराहुँदै दिपायल पुगेर चैत १३ गते अभियान समापन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि ठाउँ ठाउँमा हेल्प नेपालले परिचयात्मक कार्यक्रमसमेत राखेको छ ।दुई दशकअघि ‘एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने त्यतिकै संख्यामा पुस्तकालय तथा पछिल्ला दिनमा इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरूणसिंह बस्न्यातले जानकारी दिए ।

हेल्प नेपाल नेटवर्कले नै निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुन ः निर्माण भैरहेको र हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको, अनुमानित लागत ६ करोड रुपियाँ रहेको पनि अध्यक्ष बस्न्यातले जानकारी दिए । यसअघि नेपथ्यले कन्सर्ट पनि यसका लागि रकम उठाएको थियो ।

यसैबीच साइकयात्री देबेन्द्र बस्न्यातलाई शुक्रबार बिहान एक कार्यक्रमका बीच स्वागत गरिएको छ । बस्न्यातलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारी, नेपाली काँग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, डाक्टर पुष्प भुसाल, देउखुरी टुडे डटकमका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता लगायतले फूलमाला, टिका र खादा ओढाएर स्वागत तथा सम्मान गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष सुवेदीले बस्न्यातको अभियान अत्यन्तै प्ररोप्रकारी भएकोले प्रशंसा गर्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै सुवेदीले सबै संग संकलन गरेर एक मुस्त संस्थाको खातामा पैसा जम्मा गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे