पत्रकार महासंघको निर्वाचमा सहकार्य गरेर जाने चार पत्रकार संगठनको सहमति



पत्रकार महासंघको निर्वाचमा सहकार्य गरेर जाने चार पत्रकार संगठनको सहमति

दाङ १७ फागुन । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ, विप्लव समूह निकटको जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने विषयमा आइतबार सहमति गरेका छन् ।

उनीहरुले पत्रकार महासंघको सबै तहका संरचना वैचारिकलगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैंगिक रुपमा साझा र समावेशी हुने गरी क्रियाशील संघ, संगठनको प्रतिनिधित्वको सुनिश्चितता माग गरेका छन् ।

चार संगठनले पत्रकार महासंघको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न, पत्रकारको पेशागत एवं भौतिक सुरक्षाका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने र प्रेस स्वतन्ताविरोधी कानुन खारेजीको माग पनि गरेको छ ।

संयुक्त विज्ञप्तिमा प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जीएम, क्रान्तिकारी पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नारायण पंगेनी, जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक र प्रेस नेपालका अध्यक्ष केशव अर्यालले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा उल्लेखित पाँच बुँदे सहमति यस्ता रहेका छन् :

१.श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा पनि निरन्तरता दिन प्रतिबद्ध छौँ ।

२. नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिक लगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रुपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील सङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ ।

३. पत्रकारहरूको पेशागत एवम् भौतिक सुरक्षाका ग्यारेण्टीका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आव्हान गर्दछौँ ।

४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग गर्दछौँ ।

५. नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे