देउखुरीको राप्ती गाउँपालिकाको आज सातौँ गाउँसभा मसुरियामा सम्पन्न



देउखुरीको राप्ती गाउँपालिकाको आज सातौँ गाउँसभा मसुरियामा सम्पन्न

सन्तोषकुमार गुप्ता, भालुवाङ २६ माघ ।

देउखुरीको राप्ती गाउँपालिकाको सातौ गाउँसभा सोमबार मसुरियामा सम्पन्न भएको छ । नियमित हिउदे अधिवेशन अन्तरगत यस आर्थिक वर्षको मध्य समयमा सातौ गाउँसभा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७७/०७८ को राप्ती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्बसम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ ।
“स्वास्थ्य शिक्षा कृषि पर्यटन र पूर्वाधार, समृद्ध राप्ती गाउँपालिकाको आधार”भन्ने मूल मर्मका साथ राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा गरेका कार्यप्रगति माथि छलफल गर्दै सबै सम्मत रुपमा पास गरेको छ ।


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक विकास तर्फ, सामाजिक विकास तर्फ, पुर्वाधार विकास तर्फ, संस्थागत विकास तथा सुशासन तर्फका कार्यप्रगति उपर छलफल गर्दै सुझाव सहित पास गरेको छ । सभाकै क्रममा राप्ती गाउँपालिकाको पहिलो बुलेटिन राप्ती बुलेटिन समेत विमोचन गरिएको छ ।


चालु आर्थिक वर्ष २०७७/०७८ को संशोधित बजेट अनुमान अनुसार अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) आर्थिक वर्ष २०७७/०७८ को पौष महिनासम्मको वित्तीय अवस्था संघीय तथा प्रदेश सरकार तर्फको विनियोजन तथा आम्दानी चालु आर्थिक वर्ष को पौष मसान्तसम्म सशर्त अनुदान रकम १० करोड २७ लाख १२ हजार तीन सय बाह्र, समानीकरण अनुदान तर्फ रकम रु. ६ करोड ५१ लाख, ५० हजार, राजश्व बाँडफाँडबाट प्राप्त भएको रकम रु २ करोड ४८ लाख ३८ हजार सात सय उनानसाठ्ठी गरी कुल १९ करोड २७ लाख १ हजार एकहत्तर मात्र प्राप्त भएको प्रति छलफलका साथ सुझाव सहित पास गरेको हो ।


राप्ती गाउँपालिकामा चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी तर्फ आठ करोड अन्ठाउन्न लाख पाँच हजार अठार विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षको पौष मसान्तसम्म ४६ लाख ७३ हजार ५ सय ५४ आम्दानी भएको र यो रकम कुल आन्तरिक तर्फ विनियोजनको ५.४५ प्रतिशत हुने सभामा जानकारी गरिएको छ । सभाले चालु आर्थिक वर्षमा संशोधन पछि राप्ती गाउँपालिकाको कुल बजेट संघीय सरकार प्रदेश सरकार तथा राप्ती आन्तरिक आम्दानी गरी रकम ५८ करोड ३६ लाख ६६ हजार ३ सय ८ रुपैयाँ पास गरेको छ ।


सातौ गाउँसभाले चालु आर्थिक वर्षका लागि योजनाहरुमा विशेग गरी कोभिड-१९ कोरोना रोगको संक्रमण नियन्त्रण न्यूनिकरण र रोकथाम कार्यका लागि यसले प्रभाव पारेका विविध क्षेत्रहरुको संबोधन गर्ने गरी रोजगारी सिर्जना र व्यवसायिक पुर्नलाभ तथा समुचित विकासलाई प्राथमिकतामा राखी गाउँपालिकाले लामो गृहकार्य र अथक मेहनतका साथ तयार पारिएको संशोधन बजेट तथा कार्यक्रम, उपलब्ध स्रोत र साधनको समुचित प्रयोग मार्फत अधिकतम प्रतिफल दिने गरी मितव्ययी तरिकाले खर्च गर्ने गरी कार्यान्वयन हुने विश्वास का साथ जनताका बृहत्तर अपेक्षाको संवोधन गर्न राप्ती गाउँपालिका सदैव प्रयत्नशील रहनेगरि सभामा सम्पुणर् प्रस्तावहरुलाई सबै सम्मत तवरले पारित गरी कार्यन्वयनका लागि आदेश गरेको छ ।


गाउँसभामा राप्ती गाउँपालिकाका १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, २ नम्बर वडाध्यक्ष जगतबहादुर थापा, ६ नम्बर वडाध्यक्ष बेदप्रसाद चौधरी, ७ नम्बर वडाध्यक्ष विद्यासरण चौधरी, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना, गाउँसभा सदस्यहरु शारदा नेपाली र इशवरी गुरुङ्गले उपाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा जिज्ञासा तथा सुझाब राखेका थिए । सभामा उठेका जिज्ञासा तथा सुझाबका बिषयमा गाउँपालिका अध्यक्ष सुवेदीले जवाफ दिएका थिए ।
सभाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसका कारण लाखौको संख्यामा संक्रमण र ज्यान गुमाउनु परेकोमा संक्रमण भई स्वदेश र विदेशमा ज्यान गुमाउनेका शोकाकुल परिवारजन समवेदना समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे