सिसहनियाँ सुनचाँदी चोरी प्रकरणमा प्रहरीको ठुलो सफलता : ४ गिरोह पक्राउ, २ जना फरार



सिसहनियाँ सुनचाँदी चोरी प्रकरणमा प्रहरीको ठुलो सफलता : ४ गिरोह पक्राउ, २ जना फरार

भालुवाङ २० साउन । दाङको राप्ती गाउँपालिका–५, सिसहनियाँमा भएको ठूलो परिमाणको सुन, चाँदी तथा नगद चोरी प्रकरणको सफल अनुसन्धान गर्दै लुम्बिनी प्रदेश प्रहरीले नेपाल–भारत सीमापार सक्रिय संगठित चोरी गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिसिटिभी फुटेजको सूक्ष्म विश्लेषण, प्राविधिक अनुसन्धान, गोप्य सूचना संकलन तथा नेपाल–भारत सीमाक्षेत्रमा गरिएको समन्वित अनुसन्धानका आधारमा कपिलवस्तुका मोहम्मद आजाम र ओवेस बेग तथा भारतका इरसाद खान र मोहम्मद साजिद पक्राउ परेका छन्। अनुसन्धानका क्रममा उक्त गिरोहका अरमान खान र इरसाद अहमद घटनाका मुख्य योजनाकार तथा वारदातमा प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। दुवै जना हाल भारतको मुम्बईमा फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोहम्मद आजाम चोरीको योजनाकार तथा मोटरसाइकल चालकको भूमिकामा रहेका थिए। ओवेस बेगले चोरीका गरगहना भारततर्फ ओसारपसार गर्ने, इरसाद खानले वारदातमा प्रत्यक्ष संलग्न भई अन्य अभियुक्तलाई फरार गराउने तथा चोरीको सम्पत्ति व्यवस्थापनमा सहयोग गर्ने र मोहम्मद साजिदले चोरीका गरगहना खरिद गरी गलाएर बिक्री गर्ने कार्य गरेको खुलेको छ।

उक्त गिरोहले घरबाट ४९ तोला १ आना सुन, ५२ तोला चाँदीका गरगहना तथा नगद रु. १ लाख ५० हजार चोरी गरेको थियो। घटनालाई उच्च प्राथमिकतामा राखी गरिएको अनुसन्धानपछि प्रहरीले गिरोहका सदस्यहरूलाई पक्राउ गर्न सफलता प्राप्त गरेको हो। पक्राउ परेका चारै जना विरुद्ध चोरी सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ। प्रहरीले सीमापार हुने संगठित अपराध नियन्त्रण तथा फरार अभियुक्तहरूको खोजीका लागि नेपाल–भारत सुरक्षा निकायबीच आवश्यक समन्वय जारी रहेको समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे