आराध्या ब्युटी होमद्धारा सञ्चालित ब्युटी पार्लर तालिमका ४१ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
भालुवाङ २९ असार । दाङकाे राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित आराध्या ब्युटी होमले विभिन्न समयमा सञ्चालन गरेका ब्युटी पार्लर सम्बन्धी सीपमूलक तालिम सफलतापूर्वक पूरा गरेका ४१ जना प्रशिक्षार्थीलाई साेमवार एक विशेष कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ।
आराध्या ब्युटी होमकी सञ्चालिका पूजा खनालको नेतृत्वमा सञ्चालन भएका तालिम मार्फत सहभागीहरूलाई ब्युटी पार्लर व्यवसायसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, आधुनिक प्रविधिको प्रयोग, ग्राहक सेवा तथा व्यवसाय सञ्चालन सम्बन्धी आवश्यक सीप प्रदान गरिएको थियो। कार्यक्रममा बाेल्ने वक्ताहरूले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर, स्वरोजगारमुखी तथा उद्यमशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय स्थापना गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गरे। प्रशिक्षार्थीहरूको मेहनत, लगनशीलता, अनुशासन र उपलब्धिको उच्च मूल्याङ्कन गरिएको थियो । साथै प्रमाणपत्र प्राप्त गरेका प्रशिक्षार्थीहरूले आगामी दिनमा सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आराध्या ब्युटी होमकी सञ्चालिका पूजा खनालले आगामी दिनमा पनि गुणस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । तालिम प्राप्त गरेका धेरै प्रशिक्षार्थीहरू अहिले सिकेको सीपको आधारमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्दै सफल व्यवसायीका रूपमा स्थापित भइरहेको खनालले बताइन् । उनले अझै पनि धेरै युवायुवतीहरू आत्मनिर्भर बन्ने लक्ष्यका साथ तालिममा सहभागी भइरहेको उल्लेख गर्दै वर्तमान समयमा प्रत्येक व्यक्तिको हातमा एउटा व्यावसायिक सीप हुनु आवश्यक रहेको बताइन् । सीपले रोजगारीको खोजी गर्ने मात्र नभई रोजगारी सिर्जना गर्ने क्षमता पनि विकास गर्ने भएकाले युवाहरूलाई समयमै कुनै न कुनै व्यावसायिक सीप सिक्न उनले आग्रह गरिन् । कार्यक्रममा द इभा ब्युटी हब, कपिलवस्तुकी सञ्चालिका संगीता गुरुङ, नेल्स हब, बुटवलका ङ्कित पाण्डे, सरु पुन, सुनिता बस्नेत तथा इन्फ्लुएन्सर अञ्जना रोका मगरकाे विशेष सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन डिभाईन युनिसेक्स सलुन, बुटवलकी सञ्चालिका प्रिति दुलालले गरेकी थिइन्।
