राप्तीमा दुई दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न



राप्तीमा दुई दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न

भालुवाङ २६ असार । दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ।

मुक्त कमैया–कमलरी आयवृद्धि तथा सीप विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिममा ५० जना लाभग्राहीको सहभागिता रहेको थियो। गाउँपालिकाले गत हप्ता कार्यक्रमअन्तर्गत सहभागीहरूलाई माउ बाख्रा वितरण गरेको थियो। वितरण गरिएका बाख्राको प्रभावकारी व्यवस्थापन, रोग नियन्त्रण, पोषण, प्रजनन तथा व्यावसायिक रूपमा बाख्रा पालन गर्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तालिममा पशु विकास शाखा प्रमुख दामोदर आचार्य, पशु चिकित्सक प्रदीप चौधरी, पशु प्राविधिक शेरबहादुर हमाल र कमल पुन मगरले बाख्राको खोर व्यवस्थापन, आहार तथा पोषण, प्रजनन व्यवस्थापन, रोगको रोकथाम र उपचार, बजार व्यवस्थापन तथा व्यावसायिक बाख्रा पालनका आधुनिक प्रविधिबारे सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परम्परागत रूपमा मात्र नभई व्यावसायिक ढंगले बाख्रा पालनतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गरे । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै बाख्रा पालनलाई आम्दानीको भरपर्दो माध्यम बनाउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । गाउँपालिकाले उपलब्ध गराएको माउ बाख्रा र सीपको प्रभावकारी उपयोग गर्दै आत्मनिर्भर बन्न तथा परिवारको आर्थिक अवस्था सुधार गर्न उहाँले सहभागीहरूलाई प्रेरित गरे ।

गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले बाख्रा वितरणसँगै प्राविधिक ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर व्यावसायिक उत्पादन बढाउन सके सहभागीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे