राप्तीमा करार खेती :  ३२ कृषक २८ बिघामा नगदेबाली उत्पादन गर्दै



राप्तीमा करार खेती :  ३२ कृषक २८ बिघामा नगदेबाली उत्पादन गर्दै
भालुवाङ १८ साउन । आफ्नै नाममा जग्गा नभएकै कारण कृषि व्यवसाय सुरु गर्न नसक्ने युवाका लागि दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम नयाँ अवसरको ढोका बनेको छ। भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने व्यवस्थाले जग्गाविहीन युवालाई कृषि उद्यममा जोड्न टेवा पुगेको छ।
राप्ती गाउँपालिकाले ‘स्वरोजगारका लागि युवा लक्षित करार खेती’ कार्यक्रममार्फत कृषि गर्न इच्छुक तर जग्गाको अभाव भएका युवालाई लक्षित गर्दै आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।  गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ जना कृषकले करिब २८ बिघा क्षेत्रफलमा तरकारी तथा अन्य नगदेबालीको व्यावसायिक खेती गरिरहेका छन्। कार्यक्रम अन्तर्गत कृषकले न्यूनतम ५ कठ्ठादेखि अधिकतम १०० कठ्ठासम्म जग्गा करारमा लिएर खेती गर्न सक्छन्। एकवर्षे बालीका लागि कम्तीमा पाँच वर्ष र बहुवर्षीय बालीका लागि १५ वर्षको करार सम्झौता अनिवार्य गरिएको छ। यसले कृषि क्षेत्रमा दीर्घकालीन लगानीको वातावरण बनाउनुका साथै खेतीलाई व्यवसायका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्दै युवालाई गाउँमै उद्यमशील बताएका छन्।
‘जग्गा नभएकै कारण कृषि गर्न नसकेका युवालाई अवसर दिने, बाँझो जमिनलाई उत्पादनमा ल्याउने र कृषि क्षेत्रमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने। उनका अनुसार आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा रहेको कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको छ। कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले कार्यक्रममा सहभागी कृषकले वर्षमा कम्तीमा दुई वटा नगदेबाली उत्पादन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार छनोट भएका कृषकलाई पहिलो वर्ष जग्गा भाडाको शतप्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइन्छ। गाउँपालिकाले करार खेतीलाई केवल अनुदान कार्यक्रमका रूपमा नभई कृषि उद्यम विकासको माध्यमका रूपमा अघि बढाएको जनाएको छ। यस कार्यक्रमले बाँझो जमिनको उपयोग बढाउनुका साथै उत्पादन वृद्धि, आयआर्जन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको गाउँपालिकाको दाबी छ। स्थानीय तहहरूले कृषि क्षेत्रमा युवालाई टिकाइराख्ने उपाय खोजिरहेका बेला राप्तीको करार खेती कार्यक्रम भने जग्गाविहीन युवाका लागि व्यवसाय सुरु गर्ने व्यावहारिक मोडलका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे