योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन
भालुवाङ १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र नपार्न निर्देशन दिएका हुन् । विद्यालय भवन निर्माण लगायत सुरु भएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । उनले काम गर्ने शैली र कार्यसम्पादनको तौरतरिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिम, गोष्ठी र सेमिनारभन्दा प्रत्यक्ष प्रभाव र उपलब्धि दिने कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिन निर्देशन दिए । मुख्यमन्त्री आचार्यले कार्यविधि निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिए । साउन र भदौ महिनाभित्र आवश्यक कार्यविधि तयार गरी असोजदेखि कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
उनले सम्पन्न हुन सक्ने योजनालाई पहिलो प्राथमिकता दिन र पूरा गर्न नसकिने योजना अघि नबढाउन निर्देशन दिए । १० लाख रुपैयाँ भन्दा माथिका योजनामा ठेक्का प्रक्रिया अपनाउन र १० लाख रुपैयाँ भन्दा कम लागतका विद्यालयसम्बन्धी योजनाहरू कोटेसनमार्फत नभई सम्बन्धित विद्यालयसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने उनको निर्देशन थियो । मुख्यमन्त्री आचार्यले मन्त्रालय, निर्देशनालय तथा मातहतका सबै निकायले आफ्नो कार्यसम्पादनलाई जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने बताउनुभयो । बजेटको सही कार्यान्वयन, जनपक्षीय सेवा, उपलब्धिमूलक कार्यक्रम र सहज सेवा प्रवाहमा विशेष ध्यान दिन उनले निर्देशन दिए ।वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याल लगायतले सामाजिक विकास मन्त्रालयको वार्षिक प्रगतिको समीक्षा गरेका थिए ।
