निम्स दाइ सहित दिवंगत नेपाली आरोहीको सम्मानमा भालुवाङमा दीप प्रज्वलन
भालुवाङ १८ साउन । दाङको राप्ती गाउँपालिकाका युवाहरूले हिम पहिरोमा परी निधन भएका आरोहीहरूको संझनामा सोमबार भालुवाङ पुल्चोकमा दिप प्रज्वलन गरेका छन् ।
ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा उनीहरूले भालुवाङ पुल्चोकमा दीप प्रज्वलन गरेका हुन्। हिमालमा राष्ट्रको गौरव बढाउने क्रममा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवाहरूले मौन श्रद्धाञ्जलीका साथ दीप बालेर सम्मान प्रकट गरेका हुन्। कार्यक्रममा सहभागी युवाहरूले दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदानको उच्च सम्मान गर्दै उनीहरूको स्मृति सधैं जीवित रहने बताएका थिए।
नेपाल सरकारले सार्वजनिक गरेको विवरण अनुसार विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा गएको हिमपहिरोमा प्रख्यात नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधन भएको थियो। सोही घटना प्रति गहिरो दुःख व्यक्त गर्दै युवाहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए ।
उनीहरूले दिवंगत सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी युवाहरूले नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याएका वीर आरोहीहरूको साहस र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने उल्लेख गर्दै उनीहरूको योगदान राष्ट्रले सदैव स्मरण गर्ने विश्वास व्यक्त गरेका थिए।
