राजपुरमा भारतीयलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ
देउखुरी २५ जेठ । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्। उनले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस प्रदान गरेर नागरिकता बनाउन सहयोग गरेको आरोप प्रहरीले लगाएको छ। उक्त प्रकरणमा इलाका प्रहरी कार्यालय गढवाले वडाध्यक्ष अहिरसहित चार जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका९४ का वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मिना चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
स्रोत- देश सञ्चार
