अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू हुँदै
काठमाण्डाै ७ माघ । आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आउँदो हप्तादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा भन्सार विभागले आउँदो हप्तादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वरेण्टीन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।
तीन वटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रूपमा विस्तार गरिनेछ, जसमा सरकारी र निजी क्षेत्र रहनेछन् । भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकासी तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयहरूमा पुगिराख्नु पर्ने छैन ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिनुभयो । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।