सर्वोदय माविकाे वि.व्य.स अध्यक्षमा महरा र शि.अ संघ संयोजकमा कटुवाल सर्वसम्मत चयन
सिसहनियाँ ५ जेठ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा सम्पन्न अभिभावक भेलाले विद्यालयको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ । भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिर्ख बहादुर महरालाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

मंगलबार सम्पन्न भेलाबाट विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट सदस्यका रूपमा सुमित्रा भुसाल, खिमा घर्ती मगर र अरूण परियार चयन भएका छन् । सात सदस्यीय विद्यालय व्यवस्थापन समितिका लागि अध्यक्ष सहित चार जना चयन भइसकेका छन् भने बाँकी तीन सदस्य पछि थप गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । त्यसैगरी भेलाले यमलाल कटुवालको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष विष्टले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए । अध्यक्ष विष्टले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सबै पक्ष जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताए । उनले हालै प्रकाशित एसईई परीक्षाको नतिजालाई उल्लेख गर्दै सामुदायिक विद्यालयहरूको अपेक्षाकृत कमजोर नतिजाप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, “सरकारले शिक्षामा ठूलो लगानी गरिरहेको छ, तर त्यस अनुसार शिक्षक, विद्यार्थी र अभिभावकले जिम्मेवारी निर्वाह गर्न नसक्दा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । अब सबै पक्षले आत्मसमीक्षा गर्दै विद्यालय सुधार अभियानमा लाग्नुपर्छ ।” अध्यक्ष विष्टले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै अनुशासन, नियमितता र अभिभावकको निगरानी पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन स्थानीय तहले आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक प्रमुख देवी मल्ल, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, पूर्व प्रधानाध्यापक कृष्ण गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले विद्यालयको समग्र विकासका लागि नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका उपलब्धि, भौतिक संरचना विकास, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराएका थिए । उनले विद्यालयलाई अझ प्रभावकारी शैक्षिक संस्थाका रूपमा विकास गर्न अभिभावक र स्थानीय समुदायको सहयोग आवश्यक रहेको बताए । विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि यमा आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण सारू मगरले गरेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


